बागमति प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पुँजीवादी समाजले वस्तु विकाउन महिलालाई नंग्याउने कार्य बन्द गर्नुपर्ने बताएकी छन्। काठमाडौंमा बागमति प्रदेश युवा परिषद्ले सञ्चालन गरेको चेलीबेटी बेचबिखन, महिला हिंसा, जातीय/लैंङ्गिक विभेद तथा सुशासन सम्बन्धी सचेतना कार्यक्रममा बोल्दै पूर्वमुख्यमन्त्री शाक्यले यस्तो बताएकी हुन्।
शाक्यले नेपालको संविधान महिलामैत्री भए पनि व्यवहारमा महिला सुरक्षित नभएको बताइन्। उनले भनिन्, ‘पीडितहरू खुलेर बोल्न नसक्नुको कारण नै महिला हिंसाले थप उर्जा प्राप्त गरेको छ। त्यसैले महिला हिंसाविरूद्ध सबै एकजुट भइ विरोध गर्नुपर्छ। हिंसामुक्त परिवारले हिंसामुक्त समाज बन्छ, हिंसामुक्त समाजले हिंसामुक्त व्यवस्था अनि त्यस्तै गरी हिंसामुक्त देश बन्छ। ’
कार्यक्रममा स्वागत मन्तव्य राख्र्दै काठमाडौं महानगरपालिका वडा नम्बर १५ का सदस्य आनन्दराम गौतमले आम नागरिकहरूमा सचेतनाको कमीले गर्दा यस्तो विभेद भएको बताए। ३३ जना महिलाको सहभागिता रहेको उक्त कार्यक्रममा बागमति प्रदेश युवा परिषद्का सदस्य नम्रता महर्जनले कार्यक्रमका बारेमा प्रकाश पारेकी थिइन्।
उक्त कार्यक्रमको प्रशिक्षणमा रेस्क्यू एण्ड पिस फाउन्डेसन इन्डिया इन्टरनेसनलका डाइरेक्टर तथा आफन्त नेपालका प्राविधिक सल्लाहकार इन्द्रराज भट्टराई र अधिवक्ता इन्दिरा न्यौपानेले प्रशिक्षणको सुरुवात गरेका थिए। सोमबारदेखि सुरु भएको उक्त कार्यक्रम बुधबार सम्मप हुनेछ।