गत वर्ष जापानी बजारमा मोटरसाइकलको विक्री २३ वर्षकै उच्च बिन्दुमा उक्लिएको हुन सक्ने अनुमान गरिएको छ । कोरोना भाइरसको महामारीबीच यात्रा गर्दा सामाजिक दूरी कायम गर्न सकिने सवारी साधनको माग बढेसँगै मोटरसाइकल मात्रै नभएर स्कूटरको विक्री पनि बढेको हो ।विविध उमेरका मानिसहरुले विलासीका साधन वा यातायातको साधनको रुपमा दुई पाङ्ग्रे सवारी साधन चढिरहेका छन् । कोरोना भाइरसको महामारीपूर्व यी साधनहरु खासै लोकप्रिय थिएनन् । जापान आटोमोबाइल उत्पादक संघका अनुसार सन् २०२१ को जनवरीदेखि नोभेम्बरको बीचमा देशभरमा २ लाख ३३ हजार ५९ थान मोटरसाइकल विकेका छन् । यो सन् २०२० को सोही अवधिको तुलनामा २० दशमलव ६ प्रतिशत धेरै हो ।
डिसेम्बरसम्मको डेटा मिलाउँदा गत वर्ष मोटरसाइकलको कूल विक्री सन् २००२ मा कायम भएको २ लाख ३५ हजार ७५५ थानको कीर्तिमानी विक्रीलाई नाघ्ने क्रममा छ । योसँगै गत वर्षको मोटरसाइकल विक्री सन् १९९८ यताकै उच्च स्तरमा उक्लिनेछ । कोरोना भाइरसको महामारी कारण जापानमा रुचीका रुपमा मात्रै मोटरसाइकल चढ्ने अधवैंसै वा सो भन्दा बढी उमेरका मानिसहरुले समेत मोटरसाइकल किनेको कावासाकी हेभी इन्डष्ट्रिजका अधिकारीले भने ।
युवाहरुमाझ पनि मोटरसाइकलको माग उच्च रहेको टोकियोमा होन्डा मोटर कम्पनीको आउटलेटका व्यवस्थापकले भने । महामारी अघिको तुलनामा अर्डर दोब्बर भएको उनी बताउँछन् । गत वर्ष होन्डा, सुजुकी मोटर, यामाहा मोटर, सबैका मोटरसाइकल र स्कुटरको विक्रीमा उच्च वृद्धि देखिएको छ ।