ओमिक्रोनले विश्वमा संक्रमणको अर्को लहर निम्त्याएका बेला फ्रान्समा देखिएको ‘आइएचयू’ भेरियन्टले थप जोखिम बढाएको छ ।
फ्रान्समा मंगलवार देखिएको नयाँ भेरियन्ट ‘आइएचयू’ बुधबारसम्म भारतसहित १९ देशका चार सय व्यक्तिमा देखिएको छ ।
पहिलोपटक फ्रान्समा देखिएको बि.१.६४० नयाँ भेरियन्ट तीव्र फैलिन थालेको हो । आइएचयूमा स्पाइक प्रोटिमासहित ४६ भन्दा बढी म्युटेसन भेटिएको छ ।
भारतमा नौ हजार नमुनाको जिन सिक्वेन्सिङ गर्दा एकजनामा आइएचयू देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म सबैभन्दा धेरै फ्रान्समा दुई सय ८७ जनामा आइएचयू पुष्टि भएको छ । कंगोमा ३९, जर्मनीमा १७ र बेलायतमा १६ जनामा देखिएको छ ।
आइएचयूलाई विश्व स्वास्थ्य संगठनले निगरानीमा रहेको भेरियन्टका रूपमा वर्गीकृत गरेको छ । अत्यधिक म्युटेसन र छोटो समयमा धेरै संक्रमित फेला परे पनि यसलाई कम संक्रामक मानिएको छ ।
फ्रान्सको इन्स्टिच्युट हस्पिटल युनिभर्सिटीअन्तर्गतको ‘आइएचयू मेडिट्रेनी इन्फेक्सन इन्स्टिच्युट’का विज्ञहरूको प्यानलले गरेको पछिल्लो सर्वेक्षणले भने फ्रान्समा तीन महिनाअघि नै यो भेरियन्ट देखिएको दाबी गरेको छ । सर्वेक्षणले गत नोभेम्बरमा दक्षिण–पूर्वी फ्रान्सको एउटै भौगोलिक क्षेत्रमा बसोवास गर्ने १२ व्यक्तिमा नयाँ भेरियन्ट पत्ता लागेको जनाएको थियो ।