महाकाली नदीमा नेपाल–भारत आवतजावतका लागि दोस्रो पक्की पुल
महाकाली नदीमा नेपाल–भारत आवतजावतका लागि दोस्रो पक्की पुल
    • बेल संचार

    • २३ पुष २०७८, शुक्रबार

महाकाली नदीमा नेपाल–भारत आवतजावत गर्ने दोस्रो पक्की पुल निर्माण हुने भएको छ ।

हाल टनकपुर गड्डाचौकीमा एक मात्र पक्की पुल रहेको छ ।सरकारले दार्चुला जिल्लास्थित धाप क्षेत्रमा नेपाल र भारत जोड्ने पक्की पुल निर्माणका लागि भारतसँग समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेपछि महाकाली नदीमा अर्को पुल निर्माण हुने भएको हो । महाकाली नदीमा भारतसँग जोड्ने यो दोस्रो पक्की पुल हुनेछ ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतसँग सहमतिपत्रमा हस्ताक्षर गर्नका लागि स्वीकृति दिने निर्णय गरेको बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

दुई देशबीच आवतजावत गर्नका लागि महाकाली पुलमा हाल टनकपुर गड्डाचौकीबाहेक अरू भागमा पक्की पुल छैन । कहीँ झोलुङ्गे पुल छन् भने कहीँ तुइनबाट आवतजावत हुँदै आएको छ, जसका कारण यहाँका स्थानीय बासिन्दा महाकाली नदीमा दुर्घटनामा परी अकालमा ज्यान गुमाउन बाध्य हुँदै आएका छन् ।

हाल निर्माण हुन थालेको पुलले नेपालको दार्चुला र भारतको पिथौरागढ जिल्लाको धारचुला क्षेत्रलाई जोड्ने छ । सो पुल निर्माणका लागि यही सोमबार मात्र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले समझदारीपत्र पारित गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको थियो ।

मन्त्रालयका अनुसार दार्चुला जिल्लाको सदरमुकाम जोड्ने राजमार्गसँग रहेको धाप नजिकको असिकाँडा क्षेत्रमा निर्माण हुने पुलको डिजाइन तथा लागतसमेत तयार भइसकेको छ । दुई वर्षअघि पुल निर्माण हुने क्षेत्रको माटोको परीक्षणसमेत भइसकेको छ ।

साताकाे चर्चित
सम्बन्धित