नेपालमा पछिल्लो केहि दिन यता कोरोना संक्रमितको दर बढेको छ ।
भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि बिस्तारै त्यसको असर देखिन थालेको हो । नेपालमा थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १४ हजार ९ सय ७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५ सय ७२ र एन्टिजेन विधिबाट ३ सय ९६ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने शुन्य छ । हाल देशभर ५ हजार ७४१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
यता, जनस्वास्थ्य विज्ञहरुले नेपालमा कोरोनाको ओमिक्रोन भेरियन्ट समुदायमा पुगिसकेको दाबी गरेका छन ।स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको विज्ञप्तिले ओमिक्रोन समुदायस्तरमा पुगिसकेको प्रष्ट संकेत गरेको विज्ञहरुको भनाई छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भएको जनाएको थियो । मन्त्रालयको विज्ञप्ति अनुसार र्याण्डम स्याम्पलिङ विधिबाट पुस महिनामा कोरोना पोजेटिभ आएका ११ सय ४६ नमुना संकलन गरिएको थियो । त्यसको एसजिन स्क्रिनिङ गर्दा २५० वटा अर्थात २२ प्रतिशत नमुनामा एसजिन नेगेटिभ आयो । एसजिन नेगेटिभ आएका २५० मध्ये २४ नमुनाको जिन सिक्वेन्सिङ गरिएकोमा सबै नमुनामा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको हो । दैनिक संक्रमण पुष्टि भएको चारभाग मध्ये झण्डै एक भाग संक्रमितमा ओमिक्रोनको संक्रमण देखिएको संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनुभयो । यस्तै सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले अबको केही हप्तामा ओमिक्रोन संक्रमितको संख्या बढ्दै जाने बताउनुभयो । संक्रमितहरुको पहिचान गरेर उनिहरुलाई आइसोलसन नराख्ने हो भने कोरोना महामारी नियन्त्रण गर्न नसकिने उहाँले चेतावनी दिनुभएको छ ।
यसैबीच, सरकारले ओमिक्रोन भेरियन्टका कारण अस्पतालहरुमा अत्यधिक चाप हुनसक्ने भन्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै संक्रमितको उपचारका लागि अक्सिजनलगायत अन्य सामग्रीको यथेस्ट जोहो गर्न र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो । ओमिक्रोनका कारणअत्यधिक मात्रामा कोभिड केसहरु बढ्न सक्ने भएकाले आवश्यक सजगता अपनाउन पनि मन्त्रालयले सर्वसाधारणलाई अनुरोध गरेको छ । नयाँ भेरियन्ट पहिचानका लगि अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगै वीर, सिभिल, वीरेन्द्र सैनिक, त्रिवी शिक्षण अस्पतालका साथै प्रदेश २ को जनस्वास्थ्य प्रयोगशाला र भेरी अस्पतालबाट सरकारले जिन सिक्वेन्सिङ परीक्षण गरिरहेको छ ।