रायभरलाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालतलाई आदेश
रायभरलाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालतलाई आदेश
    • बेल संचार

    • २४ पुष २०७८, शनिबार

सर्वोच्च अदालतले २८ करोड राजस्व छलीको मुद्दामा १० महिनादेखि थुनामा रहेका बाराका उमाशंकर रायभरलाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालतलाई आदेश दिएको छ । बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं. १ गौनहरी टोल निवासी उमाशंकर रायभरलाई ७५ लाख धरौटी मागी थुनामा पठाउनुको कारण पेस गर्न सर्वोच्च अदालतले उच्च अदालत पाटनलाई आदेश दिएको हो ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बुधबार रायभारलाई थुनामा पठाउने आदेश गर्नुको आधार र कारण सहितको ‘कैफियत प्रतिवेदन’ पठाउन उच्च अदालतलाई आदेश दिएको हो । नख्खु कारागारमा १० महिनादेखि थुनामा रहेका रायभरले अधिवक्ता राधिका खतिवडाको सहयोगमा गत आइतबार सर्वोच्च अदालतमा ‘बेरितको आदेश बदर गर्न’ दिएको निवेदन उपर बुधबार पहिलो सुनुवाई गर्दै न्यायधीश खतिवडाले उच्च अदालतलाई कारण सहितको प्रतिवेदन पेश गर्न आदेश दिएको हो ।
करिब १२ धुर ऐलानी जग्गामा खपडाको कच्ची घरमा बस्ने र एक छाक टार्न पनि धौ(धौ पर्ने विपन्न परिवारका छोरा रायभरमाथि करिब २८ करोड रुपैयाँ राजस्व छलीको अभियोग छ ।त्यही अभियोगमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय अच्युत विष्ट र दीपेन्द्रबहादुर बमको इजलासले गत वर्ष फागुन १९ मा रायभरसँग ७५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । धरौटी बुझाउन वा बैंक जमानत राख्न नसकेपछि उनलाई नख्खु कारागार चलान गरिएको थियो ।
सर्लाहीको साविक गोडैता गाविस(६ (हाल गोडैता नगरपालिका ( ८) निवासी काठमाडौं कोटेश्वर बस्दै आएका सरोज कुमार मिश्रले रायभरको नागरिकता, हस्ताक्षर र ल्याप्चे लगायत व्यक्तिगत विवरण दुरुपयोग गरेर कम्पनी दर्ता गरी राजस्व छली गरेको भएपनि विभागको प्रतिवेदनलाई मात्रै आधार बनाएर उच्च सरकारी वकिलको कार्यालयले रायभरमाथि पनि मुद्दा चलाएको थियो ।राजस्व अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा उच्च अदालत पाटनमा राजस्व छलीको मुद्दा दर्ता भएपछि रायभर पक्राउ परेका थिए ।
मिश्रले रायभरको नागरिकताको फोटोकपी लिएर ब्लु क्रस ट्रेडर्स र जेन सप्लायर्स नामका दुई कम्पनी दर्ता गराएका थिए ।त्यसपछि कम्पनी दर्ता गरी सिटिजन्स बैंकमा खाता खोलेर बैंक सम्बन्धी सम्पूर्ण कारोबारको अख्तियारी आफैंले लिएका थिए ।उनीले ती कम्पनीबाट गैरकानुनी रूपमा कर छली गरेको पाइएको छ । रायभरलाई ब्लु क्रस ट्रेडर्स मार्फत १५ करोड ८७ लाख ७ हजार ९ सय १३ र जेन सप्लायर्स मार्फत १२ करोड ३ लाख ४३ हजार ७ सय ३९ रुपैयाँ छलेको अभियोग लगाइएको छ ।

साताकाे चर्चित
सम्बन्धित