रसुवा । सुक्खा पहिराका कारण अवरूद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्डको राजमार्ग शुक्रबारदेखि पूर्णरूपमा सञ्चालन भएको छ । राजमार्ग खुला भएसँगै यात्रुबाहक बस, चीनबाट आयात मालसामान बोक्ने कन्टेनर डिब्बालगायत सबै प्रकारका सवारी साधन निर्वाधरूपले आवतजावत गर्न थालेका छन् । पहिराले क्षति बनाएको विद्युत् खम्बा तथा तारसमेतको नयाँ व्यवस्थापनबाट टिमुरे तथा रसुवागढी क्षेत्रको अवरूद्ध विद्युत् नियमित भइसकेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए ।
गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम इलाका क्षेत्रअन्तर्गत कलाङकुलुङ खोला नजिक माथिबाट झरेको सुक्खा पहिराले राजमार्गको साथै विद्युत्, टेलिफोन तथा इन्टरनेटसमेतका सेवा यही २० गतेदेखि अवरूद्ध भएको थियो । राजमार्ग सञ्चालनका लागि डिभिजन सडक कार्यालयको अलावा, स्थानीयस्तरमा सञ्चालित जलविद्युत् आयोजनाले डोजर उपलब्ध गराई सहयोग गरेको प्रजिअ जैसीले बताए ।