सर्लाही । बरहथवा नगरपालिका १० कटानीमा शुक्रवार उखुबारीमा अर्धनग्न अवस्थामा एक महिलाको शव फेला परेको छ ।
कटानीकी ३२ वर्षीया सावित्रीदेवी राम चमारको शव बरहथवा नगरपालिका ७ राम छबिला साहको उखुबारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
स्थानीयवासीले घाँस काट्ने क्रममा शरीरको विभिन्न भागमा जलेको अवस्थामा शव फेला पारेका हुन् । मृतक महिलाको शरीरको विभिन्न भाग जलेकोले घटना शङ्कास्पद देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।
मृतक महिला एक हप्ताअघि देखि घरबाटै हराईरहेकी थिईन्। मृतक महिलाका श्रीमान् सुरत माँझी दुई वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको परिवारले बताएको छ ।
घटनाको बारेमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी बुढाथोकीले बताउनुभयो ।