नेपाल बारको आन्दोलन जारी ,प्रधानन्यायाधीशको राजीनामा माग गर्दै
नेपाल बारको आन्दोलन जारी ,प्रधानन्यायाधीशको राजीनामा माग गर्दै

प्रदर्शनीमा बोल्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले कानुन व्यवसायीहरूको आन्दोलन न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुनका लागि भइरहेको बताए।

    • बेल संचार

    • २८ पुष २०७८, बुधबार

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारीसहित कानुन व्यवसायीहरूले आज पनि विरोध प्रदर्शन गरेका छन्।

बुधबार प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरूसहित कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनीमा बोल्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले कानुन व्यवसायीहरूको आन्दोलन न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुनका लागि भइरहेको बताए। उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए।

अधिवक्ता शर्माले भने, ‘न्यायालयमा देखिएको विकृति, विसंगतिका विरूद्ध हो। र न्यायालयमा स्वच्छता र पारदर्शिता हुनुपर्छ भन्ने हो। हाम्रो आन्दोलन भविष्यको अनिश्चितकालसम्म छ। जबसम्म चोलेन्द्र शमसेरले राजीनामा दिँदैनन्, तबसम्म यो आन्दोलन जारी रहन्छ। न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुन नेपाल बारले आन्दोलन गरेको छ।’

त्यस्तै, अधिवक्ता रामचन्द्र सिम्खडाले आन्दोलनले देशभरका अदालतमा गोलाप्रथाको सुरूआत गर्न सहयोग गरेको बताए।
उनले न्यायपालिकाभित्रको विकृति, विसंगति र त्योभित्र रहेका भ्रष्टतन्त्रलाई उन्मूलन गर्नको लागि, निरूत्साहित पार्नको लागि आन्दोलन भइरहेको पनि स्पष्ट पारे।

अधिवक्ता सिम्खडाले भने, ‘यो आन्दोलन लगभग साढे २ महिनायता निरन्तर चलिरहेको छ। न्यायपालिका भित्रको विकृति, विसंगति र त्योभित्र रहेका भ्रष्टतन्त्रलाई उन्मूलन गर्नको लागि, निरूत्साहित पार्नको लागि नेपाल बारले आन्दोलन गरिरहेको हो। नेपाल बारको आन्दोलनले केही उपलब्धी हासिल गरिसकेको छ।’

अधिवक्ता सिम्खडाले न्यायालयभित्र रहेका न्यायाधीशहरूको सम्पत्तिको छानबिन गर्नुपर्ने माग उठिरहेको बताए।

साताकाे चर्चित
सम्बन्धित