मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने, कसरी तिर्ने मेसिनबाट जरिवाना ?
मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने, कसरी तिर्ने मेसिनबाट जरिवाना ?
    • बेल संचार

    • २९ पुष २०७८, बिहीबार

महानगरीय ट्राफिक महाशाखाले बुधबारदेखि ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना रकम मेसिनबाटै गर्न सकिने व्यवस्था मिलाएको छ ।

ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको हो ।

ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु पेका अध्यक्ष कुसुम लामाले बुधबार संयुक्त रूपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधि प्रभु–पेको किअस्क मेसिन उद्‌घाटन गर्नुभएको हो ।

एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रविधिमैत्री बनाउदै आमसेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एव सहज होस् भन्ने उद्देश्यले यो मेसिनको जडान गरेको बताउनुभयो । योसँगै किअस्क मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने भएको छ । यसले बैंकमा गएर लामो समय लाइनमा बस्ने झन्झटबाट मुक्त हुने र समयको समेत वचत हुने भएको छ ।

महाशाखाले सुरुवाती चरणमा ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा ट्राफिक जरिवाना तिर्ने गरेको थियो । पछिल्लो समय ट्राफिक प्रहरी सेवालाई प्रविधिमैत्री बनाउदै विभिन्न ६४ वटा बैंकको मोबाइल बैंकिङ, डिजिटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक सँस्थाहरु र क्युआर पेमेन्टबाट समेत जरिवाना तिर्न सकिने प्रणाली सञ्चालनमा छन् ।

कसरी तिर्ने मेसिनबाट जरिवाना ?

सर्बप्रथम प्रभु पेको किअस्क मेसिनमा रहेको ट्राफिक प्रहरीको लोगोमा क्लिक गरी स्क्रिनमा देखिने चिट नम्बर र आर्थिक बर्ष टाइप गरी नेक्सट बटन थिच्नुहोस् । त्यसपछि देखिने चिट नम्बरलगायतको सूचना चेक गरी नेक्सट बटनमा थोचेर तिर्नुपर्ने रकम मेसिनमा हालेर भुक्तानी गर्नुहोस् । भुक्तानी सफल भएपश्चात प्रिन्ट भएको रसिदसहित ट्राफिक कार्यालयमा गई आफ्नो कागजपत्र लिन सकिन्छ ।

कोरोना संक्रमणको समयमा ट्राफिक कार्यालय र बैंकमा हुने अनावश्यक भिडभाडमा कमी आउने र कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्नसमेत यो मेसिनले महत्वपूर्ण भूमिका खेल्ने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं एसपी सञ्जीव शर्मा दासले बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित