उपग्रहका बारेमा बुझ्न नेपाली युवा वैज्ञानिकले बनाए ‘सस्तो क्युव’
उपग्रहका बारेमा बुझ्न नेपाली युवा वैज्ञानिकले बनाए ‘सस्तो क्युव’
    • Bell Sanchar

    • २९ पुष २०७८, बिहीबार

विद्यार्थीलाई उपग्रहका बारेमा बुझाउने मुख्य उद्देश्यसहित चार युवा वैज्ञानिकले ‘सस्तो क्युव’ नामक शैक्षिक उपग्रह किट तयार पारेका छन् । ६ महिनाको अवधिमा निर्माण भएको यो किट युवा वैज्ञानिकहरु विकल्प ढुङ्गाना, जनार्दन सिलवाल, देवराज पन्त र सागर कोइरालाले तयार पारेका हुन् ।

 

 

उक्त किटमा ९ वटा बोर्ड, चार ठाउँमा सोलार प्यानल जडान गरिएको युवा वैज्ञानिक ढुङ्गाना बताउँछन् । उनका अनुसार यसमा चार किसिमका सेन्सर जडान गरिएका छन् । ती सेन्सरले करेन्ट, तापक्रम, आर्द्रता र जीपीएसको बारेमा जानकारी दिने जनाइएको छ ।

‘एउटा स्याटेलाइटमा हुनुपर्ने सबै कुरामा यसमा छ, कुन ठाउँमा के कुरा कलेक्ट गर्नुपर्ने हो भन्ने सबै गर्न सक्छ,’ उनले भने, ‘यसको क्षमता दूरी दुई सय मिटर छ ।’यो किट निर्माणका लागि ७५ हजार रुपैयाँ खर्च भएको छ । खर्चका लागि युनेस्को नेपालले सहयोग गरेको हो । अन्तरिक्ष प्रतिष्ठान नेपालको सहयोगमा आविष्कार केन्द्रमा यसको आविष्कार गरिएको हो ।

स्याटेलाइटले कसरी काम गर्छ भन्ने बुझाउनु नै यसको मुख्य उद्देश्य रहेको ढुङ्गाना बताउँछन् । हाल दश वटा किट बनाइएको र यसलाई नेपाली बजारमा लैजाने सोच रहेको उनले जानकारी दिए ।उक्त किट तयार भएपछि खोटाङको एक विद्यालयमा पुगेर यसबारे विद्यार्थीलाई बुझाउने प्रयास समेत गरिएको छ । सस्तो क्युवलाई ‘कक्षा कक्षामा स्याटेलाइट’ नारा दिइएको छ ।

यो किट बनाउने सोच नेपाली वैज्ञानिक डा। आभाष मास्केको हो । मास्केले नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याट–१’ निर्माण गरेका थिए । उक्त भूउपग्र दुई वर्ष अगाडि पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिएको छ ।सस्तोक्युव एउटा यस्तो प्लेटफर्म हो, जसले सिकारु वा उत्साही व्यक्तिका लागि अन्तरिक्ष र उपग्रहका बारेमा जानकारी दिन सक्छ । यसले परम्परागत उपग्रहमा पाइने प्रमुख उपप्रणालीको कार्यक्षमताको नक्कल गर्ने हुनाले मानिसले सहजै यसबाट अन्तरिक्ष र उपग्रहबारे बुझ्न सक्ने जनाइएको छ ।

 

साताकाे चर्चित
सम्बन्धित