वीर अस्पतालमा डा. लोहनीको सरुवा रोकिने ,प्रधानमन्त्रीको हस्तक्षेपपछि
वीर अस्पतालमा डा. लोहनीको सरुवा रोकिने ,प्रधानमन्त्रीको हस्तक्षेपपछि

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले सरुवा रोक्न निर्देशन दिइसकेका छन् ।

    • बेल संचार

    • २९ पुष २०७८, बिहीबार

काठमाडौं

कोभिड युनिफाइड अस्पताल (वीर अस्पताल) को प्रमुखमा सरुवा भएका डा.गुणराज लोहनीको सरुवा रोकिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालसयको उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि सरुवा प्रक्रिया रोकिने भएको हो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले सरुवा रोक्न निर्देशन दिइसकेका छन् ।

१२औं तहका विशिष्ट श्रेणीका अधिकृतको सरुवा मन्त्रीले प्रधानमन्त्रीसँग नसोधी गरेको भन्दै कांग्रेसका वरिष्ठ नेताहरूले समेत देउवाको ध्यानाकर्षण गराएका थिए ।

‘प्रधानमन्त्री कार्यलयबाट डा. लोहनीको सरुवा रोक्न भनी निर्देशन आएको छ,’  ती कर्मचारीले भने, ‘ सम्भवतः सरुवा निर्णय रोकिन्छ होला ।’ दुई दिनअघि मात्रै स्वास्थ्यमन्त्री विरोध खतिवडाले डा. लोहनीलाई वीर अस्पताल पठाउने मन्त्रीस्तरीय निर्णय गरेका थिए  ।

न्याम्स ऐन विपरीत डा. लोहनीलाई वीरमा पठाइएको, १२औं तहको कर्मचारी सरुवा प्रधानमन्त्रीलाई जानकारी नदिई गरिएको र राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागेको बेलामा सरुवा रोक्नुपर्ने अवस्था आएको जनाइएको  छ ।

प्रधानमन्त्री देउवाले हाल उनको सरुवा नगर्न र वीरमा डा. भुपेन्द्र बस्नेतलाई नै निरन्तरता दिन निर्देशन दिएका छन् । अहिले वीरको निमित्त प्रशासकीय अधिकारी रहेका डा. भुपेन्द्र बस्नेतलगायत कांग्रेस निकट चिकित्सकहरूले उक्त निर्णय परिवर्तन गर्न प्रधानमन्त्री देउवालाई बालुवाटार पुगेर दबाव दिइएको बुझिएको छ ।

डा. लोहनीलाई निर्देशकको जिम्मेवारी दिइएपछि बुधबार केही कर्मचारीले विरोधसमेत गरेका थिए ।  उनीहरुले प्लेकार्डसहित प्रदर्शन गर्दै डा. लोहनीलाई अस्पताल छिर्न नदिने बताएका थिए ।

साताकाे चर्चित
सम्बन्धित