सिमकोट । पछिल्लो समय देशभर कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै हुम्ला प्रहरीले कोरोनाविरुद्ध सचेतना गराउने कार्यक्रम शुरु गरेको छ ।
हुम्लाका प्रहरी नायव उपरीक्षक (डिएसपी) हेरम्भ शर्मा आफै माइकिङ गर्दै जनचेतना फैलाउने कार्यमा खटिनुभएको छ । प्रहरीले माइकिङ गर्दै कोरोनाबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको प्रहरी नायव उपरीक्षक शर्माले बताउनुभयो ।
जिल्लामा कोरोना संक्रमण भित्रिन नदिन र सबैलाई सचेत रहनका लागि जनचेतना फैलाउन आफूले टोल–टोलमा पुगेर माइकिङ गरेको हुम्ला जिल्लाका डिएसपी शर्माले बताउनुभयो ।
हुम्लामा कोरोनाका सक्रिय संक्रमित नरहे पनि कोरोना फैलन नदिन प्रहरीले दैनिक रूपमा जनचेतना कार्यक्रम सञ्चालन गरेको शर्माले बताउनुभयो ।
प्रहरीले बाटोमा भेटिएका सर्वसाधारणलाई भौतिक दूरी कायम गर्न, मास्कको अनिवार्य प्रयोग गर्न र सरकारी कार्यालय जाँदा अनिवार्य खोप कार्ड बोक्न तथा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए स्वास्थ्यकर्मीको सम्पर्कमा पुग्न आग्रह गरेको छ । साथै २५ जनाभन्दा बढी भेला नहुन पनि प्रहरीले आग्रह गरेको छ ।