काठमाडौं। भारतीय सेनाको सर्वोच्च अधिकारी चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको हेलिकप्टर दुर्घटनाबारे जाँच गर्न गठित जाँच कमिटीले आफ्नो रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टमा भारतीय वायु सेनाले जनरल विपिन रावतको मृत्यु जुन हेलिकप्टर दुर्घटनामा भयो त्यसमा कुनै षड्यन्त्र वा लापरवाही नभएको बताएको छ ।
भारतका प्रथम चीफ अफ डिफेन्स स्टाफ जनरल रावतको ८ डिसेम्बरमा एक हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । जनरल रावत गोर्खा रेजिमेन्टको प्रतिनिधित्व गर्दै सेनाको सर्वोच्च पदमा पुगेका थिए । भारतीय सेनामा गोर्खा रेजिमेन्ट नेपाली युवाहरुको प्रतिनिधित्वको लागि परिचित छ । जनरल रावत भारतको उत्तराखण्डको गढवालका थिए जुन क्षेत्र एक समय नेपालको थियो ।
यो दुर्घटनामा सीडीएस जनरल रावत, उनकी पत्नी सहित १४ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा भारतीय सेनाका कैयौं अधिकारीहरु समेत थिए । वायुसेनाले दुर्घटना ‘कुनै यान्त्रि विफलता, षड्यन्त्र वा लापरवाहीका कारण नभएको’ पाइएको बताएको छ । समाचार एजेन्सी एएनआइका अनुसार भारतीय वायु सेनाको ट्राइ सर्भिसेज कोर्ट अफ इन्क्वायरीले प्रारम्भिक जाँचमा फ्लाइट डेटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण गरेको बताएको छ ।
एयरफोर्सका अनुसार मौसममा आएको अचानक परिवर्तनका कारण हेलिकप्टर दुर्घटना भएको बताइएको छ । आफ्नो निष्कर्षको आधारमा कोर्ट अफ इन्क्वायरीले केही सिफरिस गरेको छ जसको समीक्षा भइरहेको छ । ८ डिसेम्बर २०२१ मा भएको शेलिकप्टर दुर्घटनामा सीडीएस रावत सहित १३ जनाको मृत्यु भएको थियो । यसमा ग्रुप क्याप्टेन वरुण सिंह गम्भीर रुपमा घाइते भएका थिए । उनको १५ डिसेम्बरमा अस्पतालमा मृत्यु भयो ।