संचार श्रमिकहरुका मुद्धालाई एकिकृत रुपमा उठाउनु पर्नेमा सरोकारवालाको जोड
संचार श्रमिकहरुका मुद्धालाई एकिकृत रुपमा उठाउनु पर्नेमा सरोकारवालाको जोड
    • Bell Sanchar

    • ३ माघ २०७८, सोमबार

काठमाडौँ । संचार क्षेत्रका श्रमिकहरुका मुद्धालाई एकिकृत रुपमा उठान गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सञ्चार श्रमिकहरुका मुद्धा उठानका लागि दर्जनौ संघ संगठनहरु भएपनि एकिकृत रुपमा हुन नसकेको ठहर गर्दै उनीहरुले एकिकृत रुपमा उठान गर्नका लागि संयुक्त संयन्त्रको आवश्यकता औल्याएका थिए ।

पत्रकारका विभिन्न संघ संगठनका प्रतिनिधिहरुसँग छलफल गर्न युनिमी नेपालले आइतवार काठमाडौमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले सवै संघ संगठनहरुले आ आफ्नो तरिकाले पत्रकार तथा सञ्चार श्रमिकहरुका अधिकारका लागि संघर्ष गरेपनि सन्तोषजनक उपलब्धी हुन नसकेको उल्लेख गरेका थिए ।

श्रमिकहरुको अन्तर्राष्ट्रिय संगठन युएनआईको एसिया प्यासेफिक महासचिव राजेन्द्रकुमार आचार्यको आतिथ्यतामा भएको छलफलमा युनिमी नेपालका अध्यक्ष गोबिन्द धितालले युएनआइ र युनिमीको परिचय गराउदै ती संगठनहरुले नेपालमा गरिरहेका गतिबिधिका बारेमा जानकारी गराउनु भएको थियो। महासचिव आचार्यले अन्तर्राष्ट्रीयस्तरमा ट्रेड यूनियनको क्षेत्रमा भइरहेको विकास र अभ्यासका बारेमा चर्चा गर्नु भएको थियो । उहाँले अन्य देशको तुलनामा नेपालमा श्रमिकहरु पर्याप्त मात्रामा संगठिन हुन नसकेको र अधिकारकै बारेमा पर्याप्त जानकारी नभएकाले माग्न नसकेको बताउनुभयो ।

युएनआई नेपालका अध्यक्ष शंकर लामिछाने अरु बेला जुन जुन पार्टीको झण्डा बोके पनि श्रमिकको मुद्धामा एकैठाउँमा हुने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालका ठुला संचारगृहमा भएका समस्या समाधानमा युनिमीले अग्रणी भूमिका खेलेको चर्चा गर्दै सवै संगठनहरुलाई अझ घच्घच्याउन आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँले सञ्चार श्रमिक तथा पत्रकारका अधिकारका लागि काउन्सिलले खेल्न सक्ने भूमिकाप्रति आफु सधैँ तयार रहेको उल्लेख गर्नुभयो । समाजवादी प्रेस संगठन, नेपालका अध्यक्ष सम्भु श्रेष्ठले राजनीतिक दल निकट पत्रकारका संगठनहरुसँग युनिमीको सम्वन्ध कस्तो हुन्छ भन्ने प्रश्न गर्नुभयो । उहाँले श्रमिकहरुले अधिकार माग्ने नाममा अराजकता बढ्दै गएकाले श्रमिकहरुको आचारसंहिता पालना हुनुपर्नेमा जोड दिनुभयो ।

प्रेस चौतारी नेपालका बरिष्ठ उपाध्यक्ष माधब नेपालले श्रमजिविले आफ्नै अधिकारका लागी पनि लड्न, अग्रसर हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । मिडिया एड्भोकेसी ग्रुपकी संस्थापक अध्यक्ष तथा बरिष्ठ पत्रकार बबिता बस्नेतले काम गर्ने शिलशिलामा महिलामाथि मात्र नभई पुरुषमा पनि हिंसा हुने गरेकाले सवैका हिंसाका विषयमा आवाज उठाइरहनु पर्नेमा जोड दिनुभयो ।

श्रमजिवि पत्रकार संघका अध्यक्ष जन्मदेब जैशीले संगठनमा लागेका पत्रकार तथा श्रमिकहरु नै आफ्नो कार्यालयमा सुरक्षित नभएकाले एकले अर्काका लागि संघर्ष गरिदिनुपर्ने बताउनुभयो । काठमाडौ विश्वविद्यालयका प्राध्यापक तथा ट्रेड यूनियनका जानकार डा. काशिराज पाण्डे विश्वविद्यालयले श्रमिकहरुको अधिकारको विषयलाई पाठ्यक्रममा नै समावेश गर्नुपर्ने खाँचौ औल्याउनु भयो ।

कार्यक्रममा आदीवासी जनजाति पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष गजुरधन राई, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन कुमार सिंह, सञ्चारिक समूहकी महासचिव बिमला तुम्खेवा, डब्लुडब्लुजे की कार्यबहाक अध्यक्ष संगिता लामा लगायतले पनि सञ्चार श्रमिकहरुका अधिकारलाई स्थापित गराउने उपायका बारेमा धारणा राख्नु भएको थियो ।

सञ्चार श्रमिकहरुको संगठन – युनिमी विश्वका ७० मुलुकमा विस्तार भएको युनिमी नेपालका महासचिव जीवन भण्डारीले जानकारी दिनुभयो ।

साताकाे चर्चित
सम्बन्धित