स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न जनप्रतिनिधिहरूको तीन वटा संस्थाले माग गरेका छन्।
गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल स्थानीय तहको निर्वाचन प्रक्रिया सुरू गर्नुपर्ने उल्लेख गरेका हुन्।
जेठभित्र स्थानीय तहको निर्वाचन गरिसक्न उनीहरूको माग छ।
संविधान र स्थानीय तह निर्वाचन ऐन २०७३ ले जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेकोले तत्काल निर्वाचनको मिति तय गर्न उनीहरूले माग गरेका छन्।
गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ, नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठ र जिसस महासंघ अध्यक्ष नवराज गेलालले आज निकालेको विज्ञप्तिमा तोकिएको समयमा नै आवधिक निर्वाचन गरिनुपर्ने बताएका हुन्।
‘निर्वाचनको वातावरण सिर्जना गर्न निर्वाचन आयोग र सबै राजनीतिक दलहरूको समेत गम्भीर ध्यानाकर्षण गर्दछौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।