यस्तो रहेछ मदिरा व्यापारी अग्रवाल बेपत्ता हुनुको कारण
यस्तो रहेछ मदिरा व्यापारी अग्रवाल बेपत्ता हुनुको कारण
    • बेल संचार

    • ४ माघ २०७८, मंगलवार

काठमाडौंमा मदिरा व्यावसायमा संलग्न अग्रवाल परिवार ऋणको भारले अत्याएपछि सम्पर्कविहीन भएको खुलेको छ । चर्को ब्याजमा ऋण लिएका कारण यो परिवारको आर्थिक अवस्था धरापमा परेको स्रोतले बतायो ।

मिटर ब्याजमा रकम चलाएपछि बाध्य गराएर ऋणदातासँग कागज गर्नुपर्दा अग्रवा परिवारको कारोबार बिग्रन पुगेको पारिवारिक स्रोतले जानकारी दिएको छ । नेपालमा विदेशी कम्पनीका मदिराको व्यवसाय गर्दै आएका अभिषेक र अमित अग्रवालको परिवार पुस २२ गतेदेखि सम्पर्कविहीन भएको छ ।

अग्रवाल परिवार सम्पर्कमा नआएपछि प्रहरी उनीहरुको खोजीमा सक्रिय भएको छ । विभिन्न बैंक, वित्तीय संस्था र व्यक्तिबाट अर्बौँ ऋण लिएको र सो तिर्न नसकेपछि अग्रवाल परिवार काठमाडौं छाड्न बाध्य भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले अग्रवाल परिवारको खोजी कार्य जारी रहेको बताए । उनले भने,“हामी छोरीज्वाईसँग निरन्तर सम्पर्कमा छौं । उहाँहरु जानसक्ने सम्भावित स्थानको खोजी गरिरहेका छौँ । कल डिटेललगायतका प्राविधिक पाटो हेरिररहेका छौं ।” अग्रवाल परिवारका नौ जना सदस्य फरार भएका छन् ।

अग्रवाल परिवारले घरभित्र एउटा पत्रसमेत छाडेर गएको पाइएको छ । सो पत्रमा ओमप्रकाश अग्रवाल, उनकी पत्नी उषा अग्रवाल, छोरा अभिषेक र अमित अग्रवालले हस्ताक्षर गरेका छन् । पत्रमा विभिन्न व्यक्तिबाट मिटर ब्याजमा रकम लिएको र सोही रकमका कारण बाँच्नु न मर्नुको अवस्थामा पुगेको उल्लेख गरिएको छ । सो पत्रमा बाँचिन्छ कि मरिन्छ, आत्महत्या गर्ने अवस्थामा पुर्‍याइएको लगायतका शब्द लेखिएको प्रहरीले जनाएको छ ।

अग्रवाल परिवारले २५ वर्षदेखि नेपालमा मदिराको व्यापार गर्दै आएको थियो । काठमाडौँको दरबारमार्गमा ग्रीनलाइन सेन्टर प्रालि खोलेर उनीहरु मदिरा व्यापारमा संलग्न थिए । अग्रवाल परिवारकै महिला सदस्यले माइती परिवार सम्पर्कविहीन रहेको मौखिक उजुरी प्रहरीमा दिएकी थिइन् । त्यसपछि महानगरीय प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले अग्रवालकी छोरीको उपस्थितिमा पुस २२ गते अग्रवाल परिवार बस्दै आएको काठमाडौँको ज्ञानेश्वर पुगेर घरमा खोजतलास गरेको थियो ।

अग्रवाल परिवार फरार भएसँगै उनीहरूले चारवटा बैङ्कबाट लिएको ८० करोडभन्दा बढी ऋणसमेत जोखिममा परेको छ । एभरेष्ट बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, एनआईसी एसिया बैङ्क र ग्लोबल आईएमई बैङ्क गरी चारवटा बैङ्कबाट मात्र ८० करोड रुपैयाँभन्दा बढी ऋण लिएको खुलेको छ ।

साताकाे चर्चित
सम्बन्धित