सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप लगाएको कार्ड अनिवार्य रुपमा देखाउनु पर्ने नियम लागु गरेको छ ।
पहिले लगाएको खोप कार्डका आधारमा मात्रै बुस्टर डोज दिइने भएकाले खोप कार्ड अनिवार्य नै चाहिन्छ ।
सरकारले खोप कार्ड अनिवार्य गरेसँगै खोप लगाए पनि खोप कार्ड हराउनेहरुलाई के गर्ने भन्न विषयले चिन्तित तुल्याएको छ । कानुनतः खोप लगाएको कार्ड हराएपछि नयाँ प्रतिलिपि बनाउनुपर्छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप कार्ड हराएमा खोप कार्डको प्रतिलिपि उपलब्ध गराउने ब्यवस्था मिलाएको छ ।
मन्त्रालयले सूचना जारी गर्दै हराएको खोप कार्ड लिन तीन वटा तरिका अपनाउन आग्रह गरेको छ । पहिलो दुवै मात्रा खोप लगाइसकेका भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिनका लागि अनुरोध गर्नुपर्छ ।
दोस्रो जोन्सन एण्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिने ।
तेस्रो पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले अग्रपङ्क्तिमा काम गर्नेलाई बुस्टर डोज दिइरहेको छ ।