चितवन,
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बन्ने र यसका लागि तत्काल काम अघि वढ्ने जानकारी दिनुभएको छ ।
रासससँग आज कुराकानी गर्दै उहाँले भन्नुभयो “ शिक्षक अस्पताल चितवनमा बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाएर यसै आर्थिक वर्षमा काम थालिने छ । हामी छिट्टै फाइल उठाएर मन्त्री परिषद्को बैंठकमा लैजान्छौं ।” जग्गा अस्पतालको नाममा आएपछि विस्तृत अध्ययन प्रतिवेदनको काम अघि बढ्ने छ । कानुनी प्रक्रियाका कारण केही समय लाग्ने भए पनि अन्य कारणबाट काम नरोकिने उहाँको भनाइ छ ।
पूर्व सम्भाव्यता अध्ययन र जग्गा पहिचान समितिले बुधबार मन्त्री पौडेललाई भरतपुरमा अस्पताल बनाउन उपयुक्त हुने जनाउँदै प्रतिवेदन बुझाएको छ । सुरुमा तीन ३०० शय्याको अत्याधुनिक शिक्षक अस्पताल बनाइने छ । क्रमशः अस्पतालको शय्या थप गर्दै लगिने उहाँले बताउनुभयो । अस्पताल परिषरमा कुरुवा घर समेत बनाइने छ । महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिकाको वडा नं १५ भगवानपुरमा आवश्यक जग्गा उपलब्ध गराउने बताउनुभयो ।
महानगरले सो स्थलमा रहेको ८ बिघा १६ कठ्ठा जग्गा उपलब्ध गराउन आवश्यक निर्णय गरी कागजपत्र समितिलाई उपलब्ध गराएको थियो । महानगरपालिकाले प्रमुख जिल्ला अधिकारीसहित जिम्मेबार सरोकारवालासमेत बसेर सो जग्गा शिक्षक अस्पतालका लागि उपलब्ध गराउने सहमति गरेको हो ।
सहमतिपत्रसँगै सार्वजनिक जग्गाको फिल्ड बुक र नक्शा, प्राविधिक ९नापी कर्मचारी०को स्थलगत नापजाँच प्रतिवेदन, वडा नं १५ को सहमतिपत्र र महानगरपालिकाको निर्णय प्रतिलिपिसहित आवश्यक सम्पूर्ण कागजपत्र पेश गरिसकेको छ । देशकै केन्द्रभागमा रहेकाले चितवन उपयुक्त हुने भन्दै समितिले प्रतिवेदन बुझाएको हो । महानगर प्रमुख दाहालले भन्नुभयो, “यस अस्पतालले भरतपुरलाई मेडिकल सिटीको रुपमा विकास गर्न सहयोग पुग्ने छ ।” शिक्षक अस्पतालपछि शिक्षाण अस्पताल हुने उहाँको भनाइ छ । अस्पतालले यहाँको समग्र विकासमा समेत सहयोग पुग्ने जनाइएको छ । भरतपुरमा क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, सङ्घीय सरकारी अस्पतालको सुविधा भएकाले काठमाडौँ बाहिर आउँदै गर्दा भरतपुर जस्तो उपयुक्त ठाउँ अन्यत्र नहुने भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सबै हिसाबले शिक्षक अस्पताल भरतपुरमा उपयुक्त हुन्छ ।” शिक्षा मन्त्रालयले डा बिमल शर्मा चालिसेको संयोजकत्वमा पूर्व सम्भाव्यता अध्ययन र जग्गा पहिचान समिति बनाएको थियो । समितिका सदस्य शिक्षक महासङ्घका सहसंयोजक पूर्णप्रसाद दवाडीले समितिले हेरेका अन्य क्षेत्रका तुलनामा भरतपुरको जग्गा उपयुक्त रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “अन्यत्र पनि नराम्रो छैन । सबै हिसाबले भरतपुर अरु राम्रो छ ।”समितिले जग्गा हेर्नु पूर्व पेशागतसँग सङ्गठनसङ्ग छलफलसमेत गरेको दवाडीले जानकारी दिनुभयो । अधिकांशले मध्यभाग भएकाले भरतपुरलाई रुचाएका थिए । दवाडीका अनुसार चार लाख भन्दा बढी शिक्षक कर्मचारी र तीनका परिवार प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।
नेपालमा स्थायी शिक्षक एक लाख सात हजार, राहत ४० हजार, पाठ शिक्षक ४० हजार, विद्यालय कर्मचारी ३६ हजार, निजी स्कुलका शिक्षक एक लाख ५० हजार र पूर्ब शिक्षक ३० हजार रहेका छन् । यस अस्पतालले सर्वसाधारणको पनि उपचार गर्ने छ । अस्पताल बन्दै गर्दा कार्यविधि बन्ने र शिक्षक कर्मचारीले पाउने सुविधाको बारेमा निर्णय हुने उहाँले जानकारी दिनुभयो ।
नमूना अस्पताल बन्ने भन्दै उहाँले टाढाबाट आएका बिरामी र आफन्त बस्नका लागि कुरुवाघरसमेत हुने बताउनुभयो । चितवनमा क्यान्सर उपचारका लागि देशैभरबाट बिरामी आउने गर्दछन् । केन्द्रियस्तरको भरतपुर अस्पताल र मेडीकल कलेजमा देशभरबाट बिरामी उपचारका लागि आउने गर्दछन् । भरतपुरलाई मेडिकल सिटीको रुपमा लिने गरिन्छ ।
तयारी कक्षा सञ्चालन
युवा वर्गलाई स्वरोजगारसँगै सरकारी सेवामा प्रतिस्पर्धी बनाउन भरतपुर महानगरपालिकाले लोक सेवा र शिक्षक सेवाको तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।
प्राविधिक तालिम लिएर तत्काल रोजगार गर्न चाहने र सरकारी सेवामा प्रवेश गर्न चाहने दुवै वर्गका युवालाई निःशुल्क रुपमा कक्षा र तालिम दिन लागिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरभित्रका युवाहरुलाई आफूले इच्छा व्यक्त गरे अनुसार तयारी कक्षा र तालिम दिन लागिएको जानकारी दिनुभयो ।
महानगरपालिकाले १८ वर्ष उमेरदेखि ४० वर्ष सम्मका युवालाई मागका आधारमा सीपमूलक तालिम र लोक सेवा र शिक्षक सेवाको तयारीका लागिसमेत सहयोग गर्न लागिएको उहाँको भनाइ छ । महानगरले गत पुस २७ गते १५ दिनको सूचना जारी गरी इच्छा अनुसारको आवेदन आह्वान गरेको छ ।
उहाँले भन्नुभयो,“आर्थिक अभावका कारण युवा तालिम र तयारी कक्षाबाट वञ्चित हुनुपर्दैन ।”आर्थिक अभावका कारण प्रतिश्पर्धामा कोही पनि पछि नपरुन भन्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको दाहालले बताउनुभयो । उहाँका अनुसार आधारभूत सीपमूलक तालिम लिएपछि सोही अनुसारको काम गर्नका लागि महानगरले सहयोग गर्ने छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले आवेदन प्राप्त भएपछि ईच्छा अनुसारको तालिम र तयारी कक्षा सुरु गरिने बताउनुभयो । महानगरले तत्कालका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । रकम अपुग भएमा थप गरी कार्यक्रम प्रभावकारी बनाइने सुवेदीको भनाइ छ ।
तालिम र कक्षाका लागि विषय विज्ञ झिकाइने छ । नतिजा प्राप्त हुने गरी काम गरिने उहाँले बताउनुभयो । निवेदन सङ्कलन हुँदै गर्दा महानगरपालिकाले व्यावसायिक सीपमूलक तालिमको लागि साझेदार संस्थासँग छलफल अघि बढाएको छ । उहाँले भन्नुभयो,“यहाँका युवाको चाहना अनुसार तयारी कक्षा वा सीपमूलक तालिम दिन्छौं ।” पालिकामा लोक सेवा र शिक्षक सेवाको तयारी कक्षा गर्न लागिएको सम्भवत यो पहिलो हो ।