साल्ट ट्रेडिङ संचालक समिति अध्यक्ष एवम् पूर्व सांसद लक्ष्मीदास मानन्धरको निधन
साल्ट ट्रेडिङ संचालक समिति अध्यक्ष एवम् पूर्व सांसद लक्ष्मीदास मानन्धरको निधन
    • बेल संचार

    • ७ माघ २०७८, शुक्रबार

काठमाडौं- पुर्व सासंद समेत रहेका साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन भएको छ ।

९३ बर्षको उमेरमा बिहिबार साँझ बि. काठमाडौं स्थित ह्याम्स अस्पतालमा उनको निधन भएको हो । मानन्धर २०५८ मा राष्ट्रियसभाको सांसद बनेका थिए । लामो समय देखी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संचालक समिति अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका उनी राष्ट्रिय उद्योगी व्यवसायी महासंघको अध्यक्ष समेत थिए ।

स्वर्गिय मानन्धरले नेपाल चेम्बर अफ कमर्शको कार्य समिति सदस्य र नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षको जिम्मेवारी पनि वहन गरेका थिए । नुनका अन्य कारोबारी सहित निजी क्षेत्र र सरकारको संयुक्त लगानीमा २०२० साल भाद्र २७ गते स्थापना भएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संस्थापक पनि हुन उनी । भारतको साँवरबाट नुन खरिद गरि नेपाल भित्र कारोबार गर्दै गर्दाको अवस्थामा उनी साल्ट ट्रेडिङमा जोडिएका थिए ।

नेपालमै पहिलो पटक मोजा उद्योग संचालन साथै पेट्रोल् पम्प, आयात निर्यात, प्लास्टिक उद्योग, खाद्य गोदाम, राइस मिल आदीमा लगानी गरेका उनी नेपालको प्रतिष्ठित उद्योगपती एवम् व्यवसायीमा गनिन्छन् ।

मानन्धर उद्योगपती, वाम राजनीतिज्ञका साथसाथै भाषासेवी, समाजसेवी र धर्मसेवी समेत थिए ।

दिवंगत मानन्धरको शुक्रबार शोभा भगवती स्थित ईन्द्रायणीमा अन्त्येष्टी गरिएको छ । उनको अन्तिम बिदाईमा घरपरिवारका सदस्य र साल्ट ट्रेडिङ परिवारका अलवा पूर्व मन्त्री, सांसद, राजनीतिज्ञ, उद्योगपती, उपभोक्तावादी, समाजसेवी,भाषासेवी, धर्मसेवी एवम् शुभेच्छुकहरुको उपस्थिती रहेको थिए । स्वर्गिय मानन्धरको जन्म काठमाडौको ठहिटीमा बि. स. १९८५ मंसिर ४ गते भएको थियो । उनका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।

साताकाे चर्चित
सम्बन्धित