भिजिबिलिटी कम हुँदा शनिबार बिहान आन्तरिक उडान प्रभावित भएका छन् ।
खराब मौसमले भिजिबिलिटी कम भएपछि बिहान सबै उडानहरू समयमा हुन नसकेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाइँले जानकारी दिनुभयो । धनगढी र नेपालगञ्ज विमानस्थल खुले पनि पूर्वका विमानस्थलहरूमा उडान हुन नसकेको गुरागाइँले बताउनुभयो । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडानमा यात्रुहरू कम हुन थालेको पनि उहाँले जानकारी दिनुभयो ।
नेपालमा थप अर्को न्यूनचापीय प्रणाली प्रवेश गर्ने क्रममा रहँदा मौसम थप बदली हुने भएको छ । यस प्रणालीका कारण हवाइ क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायतका दैनिक जीवनमा असर पर्ने भएकाले सचेत रहन भनिएको छ ।
हाल कायम रहेको पश्चिमी न्यूनचापीय प्रणाली कमजोर अवस्थामा रहेको छ तर शनिबार बिहानदेखि पश्चिम नेपालबाट थप अर्को प्रणाली प्रवेश गर्न लागेकाले मौसम बदली बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हालको प्रणाली शनिबारदेखि बाहिरिने भनिए पनि थपिएको जलवाष्पका कारण अझ बलियो बन्न पुगेको महाशाखाले जनाएको छ । जसका कारण सोमबारसम्म नै यस प्रणालीले देशव्यापी प्रभाव पार्ने सम्भावना रहेको महाशाखाले विशेष बुलेटिन जारी गरी जनाएको छ ।