पश्चिमी जापानमा शनिबार बिहान ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । ओइता, मियाजाकी, कुमामोतो र कोची प्रिफेक्चरमा शक्तिशाली झट्का महसुस गरिएको थियो । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पबाट सुनामी लगायत प्राकृतिक प्रकोपको जोखिम भने छैन । शनिबार बिहान करिब १ः०८ बजे भूकम्प गएको हो । जापानको मौषम विज्ञान एजेन्सीले क्युसुको तटबाट ४५ किलोमिटर गहिराईमा रहेको ह्युगानादा सागरमा भूकम्प केन्द्रित रहेको जनाएको छ ।
ओइता प्रान्तको ओइता, साइकी र ताकेता सहरहरूमा जापानको शून्यदेखि सातको भूकम्पीय मापनमा यसको तीव्रता पाँच भन्दा बढि पाईएको थियो । मियाजाकी प्रिफेक्चरको नोबेओका शहर र ताकाचिहो उपत्यकामा पनि समान स्तरको कम्पन मापन गरिएको छ ।
कोची प्रिफेक्चरको सुकुमो शहरमा यसको तीव्रता पाँच भन्दा कम पाईएको थियो । कुमामोतो प्रिफेक्चरको आसो शहर, उबुयामा गाउँ र ताकामोरी उपत्यका कुमामोतो प्रिफेक्चर, सुसुकी र युफु शहर ओईता प्रिफेक्चर र चुनो र मिसातो उपत्याका र शिबा गाउँ मियाजाकी प्रिफेक्चरमा पनि ५ भन्दा कम रेक्टर मापन गरिएको छ । तोकाइ र होकुरिकु क्षेत्र र इजु टापु क्षेत्र लगायत फराकिलो क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो ।