प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वदलीय बैठकबारे कुनै जानकारी प्राप्त नभएको बताएको छ ।
स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहानका लागि सर्वदलीय बैठक बोलाउनुभएको थियो ।
प्रधानमन्त्री देउवाको सचिवालयले एमालेसहित संसदमा प्रतिनिधित्व गर्ने दललाई बैठकमा बोलाएको बताएको थियो ।
तर, एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालद्वारा जारी सूचनामा प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको भनिएको सर्वदलीय बैठकका एमालेलाई कुनै जानकारी प्राप्त नभएको स्पष्ट पारेको छ । यो सूचना एमालेको आधिकारिक फेसबुक पेजमा राखिएको छ ।
एमालेले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा एमालेको किमार्थ सहमति नहुने धारणा स्पष्ट नै रहेको बताएको छ ।
प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा बिहान साढे ९ बजेका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ ।