स्राेत नखुलेकाे ५० लाख नगदसहित पाँच जना पक्राउ
स्राेत नखुलेकाे ५० लाख नगदसहित पाँच जना पक्राउ
    • बेल संचार

    • ८ माघ २०७८, शनिबार

महाेत्तरी । विगत पाँच दिनमा महोत्तरी जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको ५० लाखसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले  विगत पाँच दिनमा स्रोत नखुलेको ४६ लाख चार हजार २ सय र १५ लाख ३६ हजार बराबरको चेक, दुई हजार जाली नोट र करिब  तीन लाख नक्कली नोट बनाउने कागजसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रहरीले गत माघ ३ गतेका दिन जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत दशगजा क्षेत्रबाट मटिहानी नपा–३ बस्ने २३ वर्षीय सहाउद्दिन राईनलाई स्रोत नखुलेको ३० लाखसहित पक्राउ गरेको थियो ।

त्यस्तै, सोही दिन जलेश्वर नपा–३ स्थित जिल्लाको मुख्य भन्सार कार्यालय जलेश्वर अगाडि भारतबाट आएका धनुषा जिल्लाको जनकपुर उमनपा–६ बस्ने २६ वर्षीय मोहम्मद जाहिर रेजा र लक्ष्मिनियाँ गापा–१ बस्ने २३ वर्षीय असरफ मोहम्मदलाई चार हजार २०० र करिब तीन लाख बराबरको ५ सय र एक सय दरका नक्कली नोट बनाउने काजगसहित प्रहरीले पक्राउ गरेको थियो ।

त्यसैगरी, माघ ६ गते मटिहानी नपा–३ स्थित पेट्रोलपम्प अगाडिबाट प्रहरीले दुई हजार नेपाली नक्कली नोटसहित भारतको विहार राज्यको सीतामढी जिल्लाको मेघपुर ग्रामपञ्चायत बस्ने ४० वर्षीय नुरुल जोल्हालाई पक्राउ गरेको थियो ।

त्यस्तै, ७ गते जलेश्वरको मुख्य भन्सार कार्यालय अगाडिबाट प्रहरीले भारतबाट नेपाल आउँदै गरेका भारत विहार राज्यको सीतामढी जिल्लाको सुरसण्ड शहर बस्ने ३९ वर्षीय उदयकुमार साहलाई स्रोत नखुलेको नौ लाख ९६ हजार ४०० भारतीय रुपैयाँ र नौ लाख ६० हजार भारतीय रुपैयाँ बराबरको भारतका विभिन्न बैंकको चेकसहित पक्राउ गरेको थियो ।

महोत्तरीमा करिब ३८ किमी नेपाल भारतको खुला सिमानाका कारण अवैधरुपमा स्रोत नखुलेको रकम, नक्कली नोटका साथै नक्कली नोट बनाउने तथा कारोबार गर्ने गिरोह सक्रिय रहेका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जिल्लाको भारतीय सिमानाका तथा कुनै पनि नेपाली गाउँ सहरमा त्यस्ता कारोबार गर्नेलाई प्रहरीले सूक्ष्म तरिकाले खोजतलास तथा अनुसन्धान गरेर पक्राउ तथा कारबाहीका लागि तीव्रता दिएको छ भन्नुभयो ।

साताकाे चर्चित
सम्बन्धित