नव प्रवेशि विदेशीहरूमाथि कोरोना भाइरस संक्रमण फैलावट रोक्नको लागि भन्दै लागू जापानको कडा सीमा प्रतिबन्धको बिरूद्ध धेरै देशमा प्रदर्शनहरू हुन थालेका छन् । मानिसहरूले जापान सरकारलाई वैज्ञानिक आधार बिना गरिएको प्रवेश प्रतिबन्धका उपायहरूमा पुनर्विचार गर्न आग्रह गरेका छन् । मङ्गोलिया, पोल्याण्ड लगायतका देशमा रहेका जापानी दूतावास अगाडि विभिन्न स्थानमा जम्मा भएका विदेशी विद्यार्थी र व्यवसायीहरूले प्रदर्शन गरेका छन् । जापान प्रवेशमा रोक लगाएपछि ट्वीटरमा सुरु भएको समूह ‘जापानको प्रतिबन्ध रोक्नुहोस्’ (#stopjapansban #japantravelban) द्वारा सुरु भएको विरोध प्रदर्शन मंगलबार सुरु भएको हो । ईण्डिया र मलेसियामा यस्ता प्रदर्शन मंगलबार भएको थियो ।
जापानले नोभेम्बर ३० देखि लागू गरेको कोरोना भाइरस रोकथाम उपाय अन्तर्गत बिदेशी प्रवेश प्रतिबन्ध फेब्रुवरी अन्तिमसम्म लम्बाएको छ । जापानमा नोभेम्वर ३० मा ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि गरेपछि यो कदम चालिएको थियो । सुरुमा डिसेम्बर अन्त्यसम्म भनिएको प्रवेश निषेध यसै महिना थप गरेर फेब्रुअरीको अन्त्यसम्म पुर्याईएको हो । यस महिना जर्मनी, अस्ट्रिया, स्पेन र अर्जेन्टिना जस्ता देशहरूमा साथै टोकियोमा जापानी प्रधानमन्त्रीको कार्यालय अगाडि फेब्रुवरीमा थप विरोध प्रदर्शनहरू भइरहेको आयोजकहरूले बताएका छन् ।
प्रदर्शनकारीहरूले अधिकांश विद्यार्थीहरूले कोभिड-१९ ‘बूस्टर’ खोपहरु लगाएको दाबी गरेका छन् र जापानमा हुँदा आवश्यक कोभिड रोकथाम उपायहरूको पालना गर्नेछन् । प्रधानमन्त्री फुमियो किशिदाको प्रशासनलाई सबै विदेशीहरूलाई फेरि प्रवेश गर्न अनुमति दिइनेछ भनेर स्पष्ट रूपमा बताउन प्रदर्शनकारीहरुले आग्रह गरेका छन् । प्रदर्शनमा सहभागी कतिपयले आफू ‘कति लामो समयदेखि प्रवेश कुरीरहेको छु’ भन्ने जनाउने प्लेकार्डका तस्विर पनि अपलोड गरेका छन् ।
आयोजकहरू मध्ये एक जेड बेरिले यस वर्षको जनवरीमा विभिन्न पसल खोल्न जापान आउने योजना बनाएका थिए र पीसीआर परीक्षणका साथै खोपहरू पनि पूरा गरेका थिए, तर कडा सीमा नियन्त्रणका कारण योजनाहरू अन्योलमा परेको बताए । ‘सरकारी आदानप्रदान अन्तर्गत वा छात्रबृत्ति पाएका विद्यार्थीहरूको सानो अंशलाई मात्र प्रवेश सीमित गर्नु एक संकीर्ण विचार भएको र यसको कुनै वैज्ञानिक आधार नभएको’ बेरिको भनाई छ ।