सरकारले विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाएको सुनिश्चितता गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।
शिक्षा मन्त्रालयले खोप लगाएका विद्यार्थीहरूको नाम सहितको विवरण अध्यावधिक गर्न विद्यालयहरुलाई निर्देशन दिएको हो । प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा नजिकको स्वास्थ्य केन्द्रसँगको समन्वयमा विद्यार्थीलाई खोप लगाउन र कसैलाई पनि नछुटाउन समेत आग्रह गरिएको छ । सरकारले आगामी माघ १५ गते शनिबारदेखि २० गतेसम्म खोप लगाउने प्रयोजनको लागि विद्यालयहरु खुलाउने तयारी गरेको छ । तर, पठनपाठन सुचारु गर्ने बिषय भने अझै अनिश्चित छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रशासनले भने माघ १५ गतेपछि पनि भौतिकरुपमा पढाइ गर्न नपाइने निर्णय गरेका छन् । पछिल्लोसमय विद्यार्थीहरु पनि धमाधम संक्रमित हुन थालेपछि सरकारले खोप प्रयोजनका लागि विद्यालय खुलाउन लागेको हो । विद्यार्थीलाई फाइजर र मोडर्ना खोप लगाउने सरकारको तयारी छ ।