प्रधान सेनापति शर्मामाथि सैनिक जर्नेलले लगाए संगीन आरोप
प्रधान सेनापति शर्मामाथि सैनिक जर्नेलले लगाए संगीन आरोप

नेपाली सेनाको राष्ट्रिय प्रतिरक्षा निर्माण समितिको कार्यालयमा कार्यरत उपरथी अनन्त कार्कीले लिखितरुपमै सेनापति शर्मामाथि त्यस्ता आरोपहरु लगाएका हुन्।

    • बेल संचार

    • १३ माघ २०७८, बिहीबार

नेपाली सेनाका कतिपय उच्च सैनिक अधिकृतहरु विगत केही समयदेखि अनेक प्रकरणमा विवादमा परेका समाचारहरु सार्वजानिक भएका बेला एकजना उच्च पदस्थ जर्नेलले नै प्रधानसेनापति प्रभुराम शर्मामाथि केही संगीन आरोपहरु लगाएका छन्।

नेपाली सेनाको राष्ट्रिय प्रतिरक्षा निर्माण समितिको कार्यालयमा कार्यरत उपरथी अनन्त कार्कीले लिखितरुपमै सेनापति शर्मामाथि त्यस्ता आरोपहरु लगाएका हुन्। उपरथी पदको पदावघि थप हुनुपर्ने बेलामा सिफारिस भइसकेको उनको प्रस्ताव फिर्ता भएर उनको नाम हटाई अरु दुईजना उपरथीको मात्र पदावधि थपका लागि सिफारिस गरेपछि उपरथी कार्कीले केही गम्भीर आरोपहरु सेनापतिमाथि लगाएका छन्।

नेपाली सेनाको सेकेण्डम्यान हुँदा अर्थात् आफू सेनापति हुनुभन्दा ५ महिनाअघिमात्र सेनापति शर्माले कार्कीसहित ३ जना उपरथीहरुको पदावघि थप गर्न आफ्नै अध्यक्षताको बोर्ड बैठकबाट सिफारिस गरेका थिए। तर, भदौ २०७८ मा जब शर्मा सेनापति भए त्यसको ३ महिनापछि कार्कीसहितका तिनै जनाको नाम रक्षामन्त्रालयबाट फिर्ता मगाइयो।

पदावधि थपको सिफारिस फिर्ता गरेर जर्नेल कार्कीको मात्र नाम हटाई वांकी दुई उपरथीहरु सिताराम खड्का र ताराध्वज पाण्डेको नाम यही पुसको १६ गते फेरि रक्षा मन्त्रालयमा पठाइएको थियो।

यो कुरा थाहा पाएपछि जर्नेल कार्कीले रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै राष्ट्रपतिसमेतलाई बोधार्थ दिएर निवेदन दिएका छन्। आफ्नो पदावधि थप गर्न अनुरोध गर्दै सो निवेदन दिएको भए पनि उनको निवेदनमा सेनापति शर्मामाथि निकै गम्भीर आरोपहरु लगाएको पाइएको छ। उनले सेनापति शर्मामाथि नैतिक र कानूनी गरी निम्न आरोप लगाएका छन्

आफैंले बोर्डको अध्यक्ष हुँदा २०७७ चैत्र १२ गते पदावधि थप गर्ने सिफारिस गरी मन्त्रालय पठाएको मा २०७८ पुसमा आफ्नो नाम सिफारिसबाट हटाइ जुनियर दुईजनाको मात्र सिफारिस गर्दा आफ्नै निर्णयविरुद्ध आफैंले अर्को निर्णय गरेको।

यसो गर्दा प्रधानसेनापतिले नेपालको संविधानको उल्लंघन गरेको।

सैनिक सुशासन र सैनिक मूल्यमान्यता विपारीत काम गरेको ।

नियम कानून र विधिको शासनको विरुद्ध काम गरेको ।

मानवअधिकार र मौलिक हकका विरुद्ध काम गरेको ।

विशिष्ट श्रेणीको अधिकृतका विरुद्ध पूर्वाग्रही भएको, बद्नियत राखेको ।

स्वेच्छाचारी र मनोमानी ढंगले नेपाली सेनाको विधि र प्रक्रिया पद्धतिविपरीत काम गरेको ।

आफैंले २०७७ सालमा कार्यसम्पादन मूल्यांकन गर्दा उत्कृष्ठ ठहर गरेर सोही आधारमा थप हुनुपर्ने पदावधि थप नगरेको ।

प्रधानसेनापतिमाथि यसरी पत्र नै लेखेर अत्यन्त गम्भीर आरोपहरु सेनाको उच्चतहबाटै लागेको घटनाले नेपाली सेनाभित्र एकप्रकारको हलचल आएको छ। जर्नेल कार्की नेपाली सेनामा चौथो नम्बरमा पर्ने बरिष्ठ अधिकृत हुन्। अघिल्लो सेनापति पूर्णचन्द्र थापाका पालामा सेनाका महत्वपूर्ण विभागहरुको नेतृत्व गर्न पाएका र कतिपय विवादास्पद घटनामा संलग्न भएको भनिएका जर्नेल कार्कीलाई के आधारमा पदावधि थप नगरेको हो भन्नेबारे न त रक्षामन्त्रालयले नै केही भनेको छ न त सैनिक मुख्यालयले नै।

साताकाे चर्चित
सम्बन्धित