चिकित्सक संघको माग ,डाक्टर साहमाथि कुटपिट गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न
चिकित्सक संघको माग ,डाक्टर साहमाथि कुटपिट गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न

गाडी रोकेर जनमत पार्टीका कार्यकर्ताले झ्यालका सीसा फुटाई डाक्टर साहको टाउको र अनुहारमा प्रहार गरेको घटनाप्रति चिकित्सक संघले विरोध गरेको हो।

    • बेल संचार

    • १३ माघ २०७८, बिहीबार

सरकारी चिकित्सक संघ नेपालले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सतिश साहलाई आक्रमण गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न माग गरेको छ।

अस्पतालको गाडीमा सवार रहेका साहमाथि बुधबार जनमत पार्टीका भाटा बोकेका कार्यकर्ताले आक्रमण गरेका थिए। आक्रमणबाट घाइते डाक्टर साहको टाउकोमा ८ वटा टाँका लगाइएको छ।

गाडी रोकेर जनमत पार्टीका कार्यकर्ताले झ्यालका सीसा फुटाई डाक्टर साहको टाउको र अनुहारमा प्रहार गरेको घटनाप्रति चिकित्सक संघले विरोध गरेको हो।

‘चिकित्सकलाई गाडीको झ्यालको सिसा फुटाएर ज्यान जान सक्ने गरी टाउको र अनुहारमा निर्मम घाउ-चोट बनाउने कुकृत्यले हाम्रो समाजमा राजनीतिका नाममा व्याप्त रहेका असामाजिक तत्त्वहरूलाई नङ्ग्याएको छ,’ संघका अध्यक्ष डा रविन खड्का र महासचिव डा कितिपाल सुवेदीले आज निकालेको विज्ञप्तिमा भनिएको छ।

यस्ता घटनाले चिकित्सकको मनोबल घट्ने उनीहरूले बताएका छन्।

‘चिकित्सकलगायत स्वास्थ्यकर्मीको सबैभन्दा बढी महत्त्व रहेको यस महामारीको घडीमा चिकित्सक, स्वास्थ्यकर्मीलगायत सम्पूर्ण राष्ट्रसेवकको मनोवल घटाउने खालको गतिविधिले हामीलाई स्तब्ध तुल्याएको छ र यसको भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।

साताकाे चर्चित
सम्बन्धित