महासचिवका आकांक्षी वर्षमान पुन र जनार्दन शर्माबीच छलफल
महासचिवका आकांक्षी वर्षमान पुन र जनार्दन शर्माबीच छलफल

महाधिवेशनका बेला वर्षमान नेपाल थिएनन्। उनी स्वास्थ्य उपचारका लागि चीनमा थिए।

    • बेल संचार

    • १३ माघ २०७८, बिहीबार

नेकपा माओवादी केन्द्रमा महासचिव पदका आकांक्षी वर्षमान पुन र जनार्दन शर्माबीच छलफल भएको छ।

आठौं महाधिवेशनले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरे पनि पदाधिकारी भने चयन हुन बाँकी छ।

महाधिवेशनका बेला वर्षमान नेपाल थिएनन्। उनी स्वास्थ्य उपचारका लागि चीनमा थिए।

वर्षमान स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आफू महासचिवको स्वभाविक दाबेदार भएको बताएका थिए।

महासचिवका अर्का दाबेदार अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा हुन्। वर्षमान र जनार्दनबीच पार्टी पदाधिकारी चयन गर्ने विषयमा बुधबार छलफल भएको छ।

चीनमा उपचार गरेर स्वदेश फर्केका वर्षमानलाई भेट्न जनार्दन बुधबार उनकै निवासमा पुगेका थिए।

त्यसक्रममा उनीहरूबीच पार्टी पदाधिकारी चयनका विषयमा पनि कुराकानी भएको थियो। माओवादीले माघ २७ गते केन्द्रीय कमिटी बैठक राखेको छ।

यो कमिटी बैठकले पदाधिकारी टुंगो लगाउने तयारी छ।

जनार्दन पनि महासचिव आफूलाई बनाउनुपर्नेमा छन्। उनले महाधिवेशनकै बेला अध्यक्ष प्रचण्डलाई आफूलाई महासचिव बनाउन दबाब दिएका थिए। तर प्रचण्डले महासचिवका अर्का दाबेदार वर्षमानसँग पनि छलफल गर्नुपर्ने बताएका थिए।

गत महिना सकिएको महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्य मात्रै छानेको थियो। पदाधिकारी छान्ने अधिकार केन्द्रीय कमिटीलाई छ।

एक नेताका अनुसार वर्षमान र जनार्दनबीच बुधबारको भेटमा पनि महासचिवलगायत पार्टीका सबै पदाधिकारी सहमतिमै चयन गरेर जाने विषयमा कुराकानी भएको छ।

साताकाे चर्चित
सम्बन्धित