सिसनसँग श्रृंखलाको पडकास्ट : सुनाइन् आफू मेयर भए काठमाडौंलाई स्मार्ट सिटी बनाउने योजना
सिसनसँग श्रृंखलाको पडकास्ट : सुनाइन् आफू मेयर भए काठमाडौंलाई स्मार्ट सिटी बनाउने योजना
    • Bell Sanchar

    • १४ माघ २०७८, शुक्रबार

पूर्वमिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा अहिले अध्ययन बिदाको सिलसिलामा काठमाडौंमा छिन् । हावर्ड विश्वविद्यालयमा सहरी व्यवस्थापन पढिरहेकी यी सुन्दरी इन्जिनियर पनि हुन् ।

बिदामा नेपाल आएदेखि नै मिडिया हेडलाइन बनिरहेकी श्रृंखला अहिले स्वदेश घुमघाममा व्यस्त छिन् । उनले इन्स्टाग्राममा हाइकिङ र ट्रेकिङका सुन्दर तस्बिर सेयर गर्दै विदेशी साथीहरुलाई आफ्नो देश घुम्न आउन सन्देश दिइरहेकी छिन् ।

यस्तोमा, सार्वजनिक प्रेमलाई स्वीकार नगरेपनि श्रृंखला र भ्लगर सिसन बानियाँको प्रेम चाहिँ लुकेको छैन । यसबीच, उनीहरुले गेट-टुगेदरदेखि घुमघाम पनि सँगै गरेका छन् । भिडिओ निर्माणलाई थाँती राखेर सिसन हिजोआज पडकास्ट निर्माणमा व्यस्त छन् ।

साप्ताहिकरुपमा उनले संचालन गर्ने पडकास्टमा सेलेव्रिटीहरु कुरा सुनाउन पुग्छन् । पछिल्लो साताको पडकास्टमा चाहिँ सिसनले अतिथिको रुपमा श्रृंखलालाई निम्ताए । ३ घण्टा २३ मिनेट लामो पडकास्टमा श्रृंखलासँग उनले कुरा गरेका छन् ।

स्मार्ट काठमाडौं बनाउन कस्ता छन् श्रृंखलाका योजना ?

तीनघण्टा लामो भिडिओ पडकास्टमा श्रृंखला र सिसनबीच निजी कुरा चाहिँ भएन । इन्जिनियरको रुपमा श्रृंखलाको सहरी व्यवस्थापनको योजना, हावर्डमा पढाइको अनुभव, उनका रुचिहरु, विदेश बस्दाका भोगाइहरुबारे उनीहरुबीच कुरा भएको छ ।

आफू काठमाडौंको मेयर भए मुख्यतः सार्वजनिक यातायात व्यवस्थापन र वायु प्रदूषण सुधारमा काम गर्ने श्रृंखलाले बताइन् । साथै, फोहोरमैला व्यवस्थापन र पानीको सुविधाबारे पनि काम गर्ने उनको भनाई छ । यसका लागि तथ्यांक संकलनमा लगानी गर्ने उनको भनाई छ ।

हलिउड फिल्म ‘इन्टरस्टेलर’ आफ्नो फेभरेट फिल्म भएको बताउँदै उनले खगोलशाष्त्रमा रुचि राख्नेलाई पनि यो फिल्म उत्तिकै ज्ञानमूलक र प्रेरणादायी भएको बताइन् ।

अध्ययन बिदामा घरमा आएपनि युनिभर्सिटी फर्किन आफू उत्सुक रहेको उनको भनाई छ । बिदाको समयलाई सिक्ने र अझै कुरालाई बुझ्ने समयको रुपमा आफूले लिने श्रृंखलाको भनाई छ ।

साताकाे चर्चित
सम्बन्धित