काठका नक्कली बन्दुकले रुसको खतरनाक सेनासँग लड्ने तयारी, हेर्नुहोस् तस्वीरहरु
काठका नक्कली बन्दुकले रुसको खतरनाक सेनासँग लड्ने तयारी, हेर्नुहोस् तस्वीरहरु
    • बेल संचार

    • १८ माघ २०७८, मंगलवार

रुस र युक्रेनबीच सीजफायरपछि पनि तनाब कायमै छ । रुसी सेना जमिनको साथै समुद्रमा पनि युक्रेनको घेराबन्दी गरिरहेको छ । यदि कूटनैतिक वार्तामा ढिलाइ भयो वा विफल भयो भने युक्रेनको पूर्वी सीमामा युद्ध हुन सक्ने अनुमान गरिएको छ । सम्भावित रुसी आक्रमणको खतरालाई ध्यानमा राख्दै युक्रेनका सर्वसाधारण पनि युद्धको तयारीमा जुटेका छन् । आम जनता स्वेच्छाले देशको सेनासँग मिलेर काठका नक्कली बन्दुकमार्फत कुनै पनि खतराको सामना गर्नको लागि सैन्य अभ्यास गरिरहेका छन् ।

मिडिया रिपोर्टका अनुसार युक्रेनका कैयौं सहरमा प्रादेशिक रक्षा बलले सैन्य अभ्यासमा जनताको सहभागिता बढाउनको लागि होर्डिङ बोर्ड लगाएका छन् । यी बोर्डिमा लेखिएको छ ‘जान्नुहोस् कि आज आफ्नो घरको रक्षा कसरी गर्ने ?’ प्रादेशिक रक्षा बलको स्थापना २०१४ मा रुसले क्रिमियामा कब्जा गरेपछि गरिएको थियो । यो अभ्यासमा आम जनतालाई आक्रमणको छापामार तरिकाको साथै बन्दुक चलाउने मुख्य कुराहरु सिकाइएको छ ।

सेनासँग मिलिट्री एक्सरसाइजमा सहभागी भएका ब्लास होन्चारुक भन्छन् ‘पुटिनलाई उनको आक्रामक सैन्य रणनीतिको लागि धन्यवाद छ किनकि १९९१ मा सोभियत संघबाट स्वतन्त्र भएपछि पनि युक्रेनको यति अलग र मजबुत पहिचान थिएन । तर अब एक सच्चा युक्रेनी राष्ट्रको निर्माण गरिँदैछ ।’

सेनासँग अभ्यास गर्ने युक्रेनी जनताहरु अहिले पनि त्यो समयको स्मरण गर्छन् जतिबेला रुस र युक्रेन दाजुभाइजस्तै थिए । तर, अब परिस्थिति धेरै बदलिइसकेको छ । होन्चारुक भन्छन् ‘उनीहरुले युद्ध किन सुरु गरे ? किनकि उनीहरु युक्रेनलाई एक राष्ट्रको रुपमा स्वीकार गर्दैनन् । उनीहरु युक्रेनियन र बेलारुसीहरुलाई रुसी त मान्छन् तर दोस्रो दर्जाका रुसी ।’

अवकाशप्राप्त युक्रेनी जनरल भ्लादिमिर हेभरिलोभका अनुसार परिस्थिति २०१४ को तुलनामा अहिले अत्यन्तै फरक छ । आज सेनालाई सहयोग गर्नको लागि लाखौं नागरिक राम्रोसँग प्रशिक्षित र तयार छन् । ५५ वर्षका डिजिटल मार्केटर ओलेक्सी वासिलचेन्कोका अनुसार पुटिनले युक्रेन र रुसको सम्बन्धमा विष घोलिदिएका छन् ।

आम नागरिकको यो मिलिट्री एक्सरसाइज यसकारण पनि अहम मानिएको छ किनकि अमेरिका र नेटोले युद्धको अवस्थामा शायदै आफ्नो सेना त्यहाँ पठाउनेछन् । नेटोका महासचिव जेन्स स्टोलटेन्बर्गले आइतबार भनिसकेका छन् कि रुसले युक्रेनमा आक्रमण गरे पनि हाम्रो सेना पठाउने योजना छैन । अमेरिकाले आफ्ना ८ हजार ५ सय सेनालाई अलर्टमा त राखेको छ तर उसले सैन्य कारवाहीको सट्टा आर्थिक कारवाहीको योजना बनाइरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित