काठमाडौं-तराई द्रुतमार्ग सक्न थप १ खर्ब ७५ अर्ब लाग्ने
काठमाडौं-तराई द्रुतमार्ग सक्न थप १ खर्ब ७५ अर्ब लाग्ने

एमसिसीलाई संसदमा ल्याएर सांसदलाई निर्णय गर्न दिनुपर्ने समेत उनले बताए।

    • बेल संचार

    • २० माघ २०७८, बिहीबार

काठमाडौं-तराई द्रुतमार्गलाई निर्धारित समयमा सम्पन्न गराउनका लागि आवश्यक पर्ने थप रकम व्यवस्थापनका लागि संसदीय समितिले सरोकारवाला मन्त्रालयहरूसँग छलफल गर्ने भएको छ।

काठमाडौं-तराई द्रुतमार्गको अवलोकन भ्रमण समेत गरेको राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन समितिले द्रुतमार्ग सम्पन्न गर्नका लागि थप १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने निष्कर्ष निकाल्दै सो रकमको व्यवस्थापनका लागि सरकारका सरोकारवाला मन्त्रालयहरूसँग छलफल गर्ने भएको हो।

समितिको बिहीबार बसेको बैठकपछि न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै समिति सभापति रामनारायण विडारीले द्रुतमार्ग सम्पन्न गर्नका लागि हालसम्म खर्च भइसकेको बाहेक थप १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने देखिएको र त्यति रकमको स्रोत सुनिश्चित नहुञ्जेल काम अगाडि बढेमा काममा अवरोध हुने भएकाले रकम सुनिश्चितताका लागि सरकारका सम्बन्धित सरोकारवाला मन्त्रालयहरूसँग छलफल गरिने बताए।

‘यसलाई २०८१ सालसम्ममा सम्पन्न गर्ने नेपाल सरकारको नीति र उद्देश्य छ। तर अहिलेको काम गराइको ढाँचालाई हेर्दा र हाम्रो समितिले स्थलगत निरिक्षण गर्दा त्यो २०८१ मा सक्ने कुरामा शंकाहरू उत्पन्न भएको हुनाले सम्बन्धित मन्त्रालयहरू, खासगरी वन मन्त्रालय, भौतिक तथा पूर्वाधार निर्माण मन्त्रालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालय लगायतका मन्त्रालयसहित मन्त्रिपरिषद् सचिवालयका सचिवहरूसँग छलफल गरियो’, उनले भने, ‘यसबाट के देखियो भने, यो आयोजना सम्पन्न गर्न अहिले जति खर्च भइसक्यो त्यो खर्च बाहेक अब १ खर्ब ७५ अर्ब खर्च फेरि चाहिने कुरा रहेछ। त्यो रकमको स्रोत सुनिश्चित नहुञ्जेलसम्म ठेक्कापट्टा लगाउने काम र कार्य अगाडि बढाउने काममा अवरोध हुन्छ।’

त्यसकारणले त्यो रकम सुनिश्चित गराउनको निम्ति सम्बन्धित मन्त्रालयसँग छलफल गर्न बैठकले निर्देशन दिएको उनले बताए।

‘रकम सुनिश्चित गराउनको निम्ति नेपाल सरकार अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, रक्षा मन्त्रालयको कस्तो प्रकारको सोच छ? कसरी काम अगाडि बढाइन्छ त? र विभिन्न मन्त्रालयहरूको समन्वय नभएको हुनाले काममा ढिलाइ भएको छ। कहिले रूख काट्नको लागि ढिलाइ, कहिले एलाइनमेन्ट परिवर्तन भएकोलाई स्वीकृत दिनको लागि ढिलाइ, कहिले निजी क्रसर उद्योगहरू ठाउँ-ठाउँमा खोलेर त्यसले डिस्टर्ब गरेर त्यसको कारणले हुन गएको ढिलाइलाई कसरी समाधान गर्ने त?’, उनले भने, ‘भनेर अब छिट्टै फेरि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, रक्षा सचिव र अर्थ सचिवलाई बोलाएर फेरि कार्य अगाडि बढाउने, यसलाई छिटोभन्दा छिटो कार्य सम्पन्न गराउन के–के गर्न सकिन्छ भनेर, उहाँहरूसँग छलफल गरेर समितिले निर्देशन दिने कुरा आजको बैठकले निर्णय गर्‍यो।’

उनले विभिन्न मन्त्रालयबीच समन्वय नभएका कारण काम गर्न ढिलाइ भइरहेको भन्दै मन्त्रालयबीचमा समन्वय बढाई काम सम्पन्न गराउने विषयमा पनि सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरी समितिले आगामी दिनमा निर्देशन दिने बताए।

साताकाे चर्चित
सम्बन्धित