जसपामा पेचिलो बन्दै उपेन्द्र-बाबुरामको द्वन्द्व
जसपामा पेचिलो बन्दै उपेन्द्र-बाबुरामको द्वन्द्व

पार्टीमा एकलौटी ढंगले निर्णय गरेको भन्दै भट्टराई पक्षले यादवलाई दबाब दिएको छ।

    • बेल संचार

    • २६ माघ २०७८, बुधबार

सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई बीचको विवाद पेचिलो बन्दै गएको छ।

पार्टीमा एकलौटी ढंगले निर्णय गरेको भन्दै भट्टराई पक्षले यादवलाई दबाब दिएको छ।

सरकारमा जाने मन्त्रीहरूको नाम एकलौटी ढंगले सिफारिस गरेको र राष्ट्रिय सभा निर्वाचनमा समेत पार्टीमा छलफल नगरेको आरोप भट्टराई पक्षले लगाएको छ।

भट्टराई पक्षले राष्ट्रिय सभामा कम्तीमा ३ जना उम्मेदवार पाउनु पर्ने सर्त राखेको थियो। यादवले सत्तारूढ गठबन्धनसँग २ जनामा मात्रै सहमति गरेको असन्तुष्ट पक्षको आरोप छ।

‘उहाँले एकातिर दुई जनामा मात्रै सहमति गर्नुभयो। अर्कातिर नेकपा (एकीकृत समाजवादी) भन्दा हामी बलियो रहेको प्रदेश ५ मा हामीले उम्मेदवार बनाउन सकेनौं,’ भट्टराईनिकट एक नेताले भने,’प्रदेश १ मा पार्टीका उम्मेदवार हेमराज राईसमेत पराजित हुनुपर्‍यो। हामीले प्रदेश २ मात्रै जित्न सक्यौं। यसको समीक्षा जरूरी छ।’

भट्टराईले आफूनिकट नवराज सुवेदीलाई प्रदेश ५ बाट राष्ट्रिय सभामको उम्मेदवार बनाउन चाहेका थिए।

आउँदो स्थानीय तहको निर्वाचन लागि उम्मेदवार बनाउन समेत यादवले एकलौटी गर्न खोजेको आरोप भट्टराई पक्षको छ।

भट्टराई पक्षले पार्टीको कार्यकारिणी बैठक बोलाउन माग गरेको छ। यादवले भने यसलाई आलटाल गर्दै आएका छन्। ३५ सदस्यीय कार्यकारीणीमा भट्टराईले बहमुत जुटाइसकेको बताइएको छ।

कार्यकारिणी बैठक नबोलाइए कुनै कदम चाल्न बाध्य हुने भट्टराईनिकट स्रोतले सेतोपाटीलाई बतायो।

सामूहिक निर्णयमा पार्टीलाई चलाउनु पर्ने पक्षमा आफू रहेको कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले सेतोपाटीलाई बताए।

‘पार्टी सामूहिक निर्णयका आधारमा चल्नुपर्छ। त्यसको लागि पार्टीको बैठक बोलाउन जरूरी छ,’ उनले भने,’पार्टीको कार्यकारी अध्यक्षसमेत चयन गर्नुपर्छ। कुन व्यक्ति हुन्छ भन्ने महत्वपूर्ण होइन। सामूहिक निर्णय महत्वपूर्ण हो।’

यादवनिकट कार्यकारिणी सदस्य प्रकाश अधिकारीले बाहिर हल्ला गरेजस्तो विवाद पार्टीमा नभएको बताए।

यो पनि पढ्नुस्:

उपेन्द्र यादवको एकलौटी अधिकार कटौती गर्न जसपामा दबाब

उनले छिट्टै कार्यकारिणी बैठक बोलाउनेसमेत बताए। पार्टीमा कार्यकारिणी अध्यक्ष मात्रै नभएर अन्य पदहरूमा चयन गर्न बाँकी रहेको उनले बताए।

पार्टीका असन्तुष्ट पक्षलाई समेटेर भट्टराईले अस्थितरता सिर्जना गर्न खोजेको यादव पक्षको आरोप छ।

नयाँ शक्तिबाट आएका, उपेन्द्र यादवसँग असन्तुष्ट बनेका र राजपा पक्षधर नेताहरूलाई समेत भट्टराईले समेटेका छन्। भट्टराई निकट स्रोतका अनुसार कार्यकारिणी अध्यक्ष थप्नका लागि यादव तयार नभए पनि छलफलमा बस्न थालेका छन्।

कार्यकारिणी सदस्य एवं भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादवले पार्टीभित्र केही आन्तरिक समस्या भए पनि त्यसलाई मिलाउन सकिने बताए।

‘पार्टीमा केही समस्या छन्। कतिपय समायोजनका समस्या पनि छन्। तर जटिल खालका छैनन्,’ उनले भनिन्,’एकजना मात्रै सांसद भएको भए पनि हामीले बाबुराम भट्टराईजीलाई सम्मानजनक हैसियत दिएका छौं। त्यसैले समायोजनमा पनि धेरै समस्या छ भन्ने मलाई लाग्दैन।’

जसपा कार्यकारिणी सदस्य नवराज सुवेदीले पार्टी अब स्थानीय निर्वाचनमा लाग्नुपर्ने भएकोले शीर्ष नेताहरूले छिट्टै विवाद मिलाउने बताए।

‘समाधान गर्नै नसक्ने खालका समस्या छैनन्। शीर्ष नेताहरू बसेपछि यो टुंगिन्छ,’ उनले भने,’चुनाव पनि आउँदैछ। शीर्ष नेताहरूको संवाद पनि सुरू भएको छ।’ सेतोपाटी

साताकाे चर्चित
सम्बन्धित