सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने
सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

सांसदहरूमाथिको कारबाहीको सूचना टाँस्नुपर्ने र त्यस्तो नगरे सभामुखले निकास दिनुपर्ने एमालेको माग छ।

    • बेल संचार

    • २ फाल्गुन २०७८, सोमबार

सभामुख अग्नि सापकोटाले सोमबार दिउँसो बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ।

सभामुख सापकोटाले आफ्ना पार्टीका १४ सांसदलाई गरेको कारबाहीको सूचना नटाँसेको भन्दै एमालेले संसद अवरूद्ध गर्दै आएको छ।

सांसदहरूमाथिको कारबाहीको सूचना टाँस्नुपर्ने र त्यस्तो नगरे सभामुखले निकास दिनुपर्ने एमालेको माग छ।

आजको सर्वदलीय बैठकमा आफूहरू नजाने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए।

‘समसामयिक परिस्थिति र महाभियोगबारे छलफल गर्ने भनिएको छ। हामी त्यो बैठकमा जाँदैनौं,’ उनले भने।

सभामुख अग्नि सापकोटाले सोमबार दुई बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्न लागेका हुन्।

सभामुखको सचिवालयका अनुसार समसामियक विषयमा छलफल गर्नको लागि बैठक बोलाइएको हो।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएका सर्वदलीय बैठकमा पनि एमाले अनुपस्थित हुने गरेको छ।

एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)को वैधतामाथि प्रश्न उठाउँदै एमाले एकीकृत समाजवादी सहभागी हुने बैठकमा सहभागी हुँदैन।

साताकाे चर्चित
सम्बन्धित