रुसले तीन तिरबाट युक्रेनलाई घेरिसकेको छ । युक्रेनको राजधानी किभमा तीब्र रुपमा कूटनैतिक र सैन्य बैठकहरु भइरहेका छन् । अमेरिकी खुफिया एजेन्सीहरुका अनुसार रुसले १ लाख ३० हजार सैनिक युक्रेनको सीमामा तैनाथ गरेको छ ।
आइतबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग लगभग एक घण्टा टेलिफोनमा कुरा गरे । बाइडेनले रुसलाई युक्रेनमा कुनै पनि किसिमको सैन्य कारवाहीका विषयमा चेतावनी पनि दिए । तर, ह्वाइट हाउसका अनुसार ६० मिनेट लामो यो कुराकानीबाट पनि परिस्थितिमा परिवर्तनको कुनै संकेत छैन ।
अमेरिकी गुप्तचर एजेन्सीहरुका अनुसार रुसले युक्रेनलाई घेराबन्दी गर्नको लागि मिसाइल, एयर फोर्स, नेवी फोर्स र स्पेसल फोर्सेजलाई तैनाथ गरेको छ । यसका अलावा हमलाको स्थितिमा आफ्नो सप्लाइ चेनलाई पनि तयारी अवस्थामा राखेको छ । रुसले ब्ल्याक सीमा ६ जंगी जहाज पनि उतारेको छ । यी जहाज उभयचर वर्गमा पर्छन अर्थात यिनीहरु पानीबाहेक अर्को माध्यमबाट पनि हमला गर्न सक्षम छन् । यो समुद्री तटमा रुसको शक्तिमा ठूलो वृद्धि हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका खुफिया एजेन्सी रुसले कहिले आक्रमण गर्न सक्छ भन्ने पत्ता लगाउन जुटेका छन् । रुस निकै गोपनीयताको साथ आफ्नो कदम अगाडि बढाइरहेको छ । अर्कोतर्फ अमेरिकी एजेन्सीहरु पनि पूरै क्षमताका साथ रुसको योजना बुझ्न लागिपरेका छन् । अमेरिकी म्यागजिन पोलिटिकोका अनुसार राष्ट्रपति जो बाइडेनले आफ्ना सहयोगीहरुलाई रुसले १६ फेब्रुअरी बुधबारका दिन आक्रमण गर्न सक्ने बताएका छन् । अमेरिकाले यो अनुमान खुफिया जानकारीको विश्लेषणको आधारमा गरेको बताएको छ ।
रुसले आक्रमण गर्न सक्ने आशंकाका बीच आइतबार नै अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ५० मिनेट कुराकानी गरेका थिए । ह्वाइट हाउसका अनुसार बाइडेनले यो कुराकानीमा युक्रेनलाई रुसले आक्रमण गरेमा अमेरिकाले आफ्ना सहयोगी देशहरुसँग मिलेर जवाफ दिने विश्वास दिलाएका छन् । बाइडेनले मस्कोमाथि कडा आर्थिक प्रतिबन्ध लगाइने र नेटोले जवाफी कारवाही गर्ने बताएका छन् ।
ह्वाइट हाउसका अनुसार अमेरिका र युक्रेन ‘डिटरेन्स एण्ड डिप्लोमेसी’ रणनीतिमा सहमत भएका छन् । अर्थात रुससँग कूटनीतिक वार्ता जारी रहनेछ तर अमेरिका र युक्रेन दुवैले आफ्नो सैन्य तयारी पनि बढाउनेछन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले त्रासले युक्रेनको अर्थतन्त्र कमजोर हुन सक्ने भएकोले आफ्ना नागरिकसँग कुनै किसिमको त्रासमा नरहन सचेत बनाएका छन् ।