जापानमा गत वर्ष लगातार सातौं वर्ष पनि अपराध घटेको पाइएको छ । राष्ट्रिय प्रहरी एजेन्सीले सार्वजनिक गरेको गत वर्ष जापानभर दर्ता भएका अपराधसम्बन्धी प्रारम्भिक तथ्यांकले यस्तो देखाएको हो । सन् २०२१ मा प्रहरीमा कूल ५ लाख ६८ हनार १४८ ओटा अपराधको उजुरी परेको छ । यो अघिल्लो वर्षको तुलनामा साढे ७ प्रतिशत कम हो । योसँगै लगातार सातौं वर्ष पनि अपराध घटेर दोस्रो विश्व युद्धयताकै न्यून स्तरमा ओर्लिएको छ ।
सन् २००२ मा दर्ता भएका अपराध २८ लाख ५० हजार ओटाको उच्च स्तरमा उक्लिएको थियो । त्यसयता यसमा निरन्तर कमी आइरहेको छ । गएको दुई वर्षमा भने सडक अपराध र घरहरु फोडेर चोरीचकारीका घटनाहरु पनि कमी आएको छ । कोरोना भाइरसको महामारीका कारण मानिसहरुले धेरै समय घरमै बिताइरहेकोले पनि अपराध घटेकोे विश्लेषण गरिएको छ ।
तर सञ्चारका उपकरणहरु प्रयोग गरेर हुने धोकाधडी र ठगीका घटनाहरुमा भने उल्लेख्य वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा यस्ता घटनाहरु ६ दशमलव ७ प्रतिशतले बढेर १४ हजार ४६१ मा उक्लिएको छ । यस्तो भएको यो चार वर्षमा पहिलो पटक हो । ‘रिफन्ड घोटाला’हरुमा पनि उल्लेख्य वृद्धि भएको देखिएको छ । समग्रमा अपराधका घटनामा अपराधीहरुको पक्राउ दर ४६ दशमलव ६ प्रतिशत छ । हत्या र डकैतीजस्ता जघन्य अपराधमा भने यो दर ९३ दशमलव ४ प्रतिशत छ ।