पुष्पलाल मध्यपहाडी लोकमार्गको प्रगति गोरखामा निकै सुस्त देखिएको छ । आयोजना सुरु भएको सात वर्षसम्ममा जम्मा नौ किलोमिटर सडक पिच भएको छ । आयोजना कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार लम्जुङको सिमाना चेपेदेखि ठाँटीपोखरी सम्मको पाँच किलोमिटर र वख्लेदेखि आरुघाटसम्मको चार किलामिटर गरी कुल नौ किलोमिटर सडक कालोपत्रे भएको हो ।
समयमा काम हुन नसकेपछि ठाँटीपोखरीदेखि मसानेठाँटी र मसाने ठाँटीदेखि खहेरसम्मको बाहेक अन्य खण्डको म्याद थप भइसकेको छ तर काम सकिएको छैन । ‘ठेकेदारको लापर्बाहीले समयमा काम हुन नसकेको हो,’ पुष्पलाल मध्यपहाडी आयोजनाका इन्जिनियर गोबिन्दप्रसाद श्रेष्ठले भन्नुभयो, ‘ठेकेदारले भूकम्प, नाकाबन्दी के के भन्दै अहिले कोरोनाका कारण काम नभएको बहाना गरेका छन् ।’ कोरोनाका कारण काम प्रभावित भएको भन्दै सरकारले थप गरिदएको समय सीमा पनि आगामी चैतमा सकिने उहाँले बताउनुभयो ।
आरुघाट ओख्ले खण्डको पाँच किलोमिटर सडक कालोपत्रको तयारीमा छ । तीन किलोमिटर भने बाँकी देखिन्छ । ओख्ले निबेल खण्डमा सवबेस निर्माण भएको छ । नाली निर्माणको काम भइरहेको छ । त्यस पनि बेस निर्माणको काम थालिने इन्जिनियर श्रेष्ठको भनाइ छ । खहेर देखि ठाँटीपोखरीसम्मका दुईवटा नयाँ खण्डमा भने अहिले स्टकचर निर्माण, सवबेस निर्माण लगाएको काम भइरहेको आयोजना कार्यालयले जानकारी दिएको छ ।
‘यो वर्ष आरुघाट वख्ले खण्डको ५ किलोमिटर पिच हुन्छ । वख्ले निबेल खण्डको पनि ४/५ किलोमिटर गर्ने भनेर लागेका छौँ,’ उहाँले भन्नुभयो, ‘खहरे मसानेठाँटी खण्डको प्रगति पनि राम्रो छ ५/६ किलोमिटर त त्यहाँ पनि पिच हुन्छ होला ।’ मसानेठाँटीदेखि पालुङटारको ठाँटीपोखरीसम्म ५/६ किलोमिटर सवबेसको काम गर्ने योजना रहेको इन्जिनियर श्रेष्ठको भनाइ छ । यी दुई खण्डको म्याद असार मसान्तसम्म रहेको छ ।
सर्वप्रथम २०७१÷७२ मा आरुघाट–वख्लेको १३ किलोमिटर र वख्ले–खहरे १६ किलोमिटर काम सुरु भएको थियो । खहरे–मसानेठाँटीको र मसानेठाँटी–ठाँटीपोखरी सडक भने २०७६/७७ बाट सुरु भएको हो । अहिलेसम्म गोरखामा जम्मा ४२ प्रतिशत प्रगति भएको उहाँले बताउनुभयो । मध्यपहाडी अन्र्तगत जिल्लामा पर्ने ६३.३७ किलोमिटर सडकलाई पाँच भागमा विभाजन गरी ठेक्का लगाइएको छ ।
दुई अर्ब एक लाख १७ हजार रुपियाँमा ठेक्का भएको थियो । अहिलेसम्म ५५ किलोमिटर ट्रयाक निर्माण र ४१ किलोटर ग्राभेल, २२ किलोमिटरमा बेस बिछ्याइएको र ९ किलोमिटर कालोपत्रे गरिएको आयोजना कार्यालयले जनाएको छ । आयोजना निर्माण भौतिक प्रगति थोरै देखिए पनि वित्तीय प्रगति भने उलेख्य भएको सरकारवालाहरु बताउँछन् ।
पालुङटार क्षेत्रको वन सम्बन्धी समस्या समाधान भइसकेको छैन । सरकारले रुख काट्ने अनुमति दिन बाँकी नै छ । आयोजना निर्माणको काम सुस्त हुँदा सर्वसाधारण भने मर्कामा परेका छन् । हिउँदमा धुलो र वर्षामा हिलोका कारण सवारी आवागन प्रभावित हुने गरेको छ ।