जेठ १ देखि कक्षा सञ्चालन ,वैशाखभित्र नयाँ शैक्षिक सत्र
जेठ १ देखि कक्षा सञ्चालन ,वैशाखभित्र नयाँ शैक्षिक सत्र

यसैबीच मन्त्री पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने विषयमा अर्थमन्त्री जर्नादन शर्मासँग छलफल गरेका छन्। बिहीबार मन्त्री पौडेलले धितो राखेर ऋण दिने विषयमा छलफल गरेका हुन्।

    • बेल संचार

    • ६ फाल्गुन २०७८, शुक्रबार

सरकारले आगामी वैशाखबाटै नयाँ शैक्षिक सत्र सुरू गरिने जनाएको छ। जसअनुसार जेठ १ गतेबाट कक्षासमेत सञ्चालन हुने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बताएका छन्।

काठमाडौं महानगरपालिका–१७ ठहिटीस्थित शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयको नयाँ भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र सबै सार्वजनिक विद्यालयका भवन बनाउने पनि बताए।

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत करिब एक हजार ९०० विद्यालय बनेका छन्’,उनलले भने, ‘देशभरका विद्यालयमा के आवश्यकता छ त्यसको आधारमा अब विद्यालयका पूर्वाधार बन्छन्।’

मन्त्री पौडेलले विद्यालय भवनले मात्रै नहुने भन्दै शैक्षिक गुणस्तरका लागि शिक्षक, अभिभावक र विद्यार्थी लाग्नुपर्नेमा जोड दिए। पूर्वाधार निर्माणसँगै ‘पढ्दै कमाउँदै’ कार्यक्रम अघि बढेकाले केही दिनभित्र अर्थ मन्त्रालयबाट बजेट स्वीकृत गरी निवेदन दिएका विद्यालयमा सोही कार्यक्रम जाने पनि उनले बताए।

शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन विद्यालयमा ल्याब, आईसीटी ल्याबको व्यवस्था गरिएको बताउँदै शिक्षक दरबन्दी र १८ वर्षदेखि रोकिएको आन्तरिक बढुवाको काम अघि बढेको जानकारी दिए। उनले सङ्घीय शिक्षा, प्राविधिक शिक्षा, उच्च शिक्षा ऐनको काम मन्त्रालयले सकेर अर्थ र कानुनमा पठाएको बताए।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भइ नेपाल सरकार र एसियाली विकास बैंकको आर्थिक सहयोगबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) को विपद् उत्थानशील विद्यालय परियोजनमार्फत चार करोड १७ लाखमा २२ कोठे भवन बनेको हो।

यसैबीच मन्त्री पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने विषयमा अर्थमन्त्री जर्नादन शर्मासँग छलफल गरेका छन्। बिहीबार मन्त्री पौडेलले धितो राखेर ऋण दिने विषयमा छलफल गरेका हुन्।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई प्रमाणपत्र धितो राखी कर्जा दिने कार्यक्रम समेटेको थियो। बजेटमा सहुलियतपूर्ण ब्याजदरमा २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइने उल्लेख छ।

साताकाे चर्चित
सम्बन्धित