काठमाडौं। नेपालले ओमनमा आजदेखि सुरु भएको टि–२० विश्वकप ग्लोबल छनोटमा विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ३९ रनले पराजित गरेको हो । ओमनको अल अमिरात क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले दिएको ११८ रनको लक्ष्य पच्छ्याएको ओमन १७ ओभरमा ७८ रनको स्कोरमा अलआउट भयो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११७ रन बनाएको थियो । नेपालका लागि मोहम्मद आरिफ शेखले सर्वाधिक ३८ रन बनाए । लोकेश बम र कप्तान सन्दिप लामिछानेले समान १६ रन बनाए । ज्ञानेन्द्र मल्लले १५ र दिपेन्द्र सिंह ऐरीले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओमनको लागि खावर अलीले ३ विकेट र बिलाल खानले २ विकेट लिए । यस्तै फयाज बट र जसीन मकसूदले १–१ विकेट लिए ।
जवाफी ब्याटिङमा आएको ओभन १७ ओभरमा ७८ रन बनाउँदा नै अलआउट भयो । ओमनका लागि नसीम खुसीले सर्वाधिक २४ रन बनाए । अन्य ब्याटरहरु भने कसैले पनि दोहोरो अंकमा स्कोर गर्न सकेनन् । नेपालका लागि कमल सिंह ऐरीले ३ विकेट लिए । सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । जितेन्द्र मुखिया र अविनाश बोहोराले १–१ विकेट लिए ।