युवाहरूलाई स्वदेशमै रोजगारीका लागि साहित्य सिर्जना गर्न आग्रह
युवाहरूलाई स्वदेशमै रोजगारीका लागि साहित्य सिर्जना गर्न आग्रह

यो उमेर भनेको घरपरिवारसँग बिताउने र श्रम गर्न सक्ने उमेर हो ।

    • बेल संचार

    • ८ फाल्गुन २०७८, आईतवार

काठमाडौँ
वैदेशिक रोजगारीमा गएर कठिन र जोखिमयुक्त श्रम गर्न बाध्य नेपाली युवाहरूलाई फर्काएर स्वदेशमै रोजगारीमा लगाउन प्रेरित गराउने खालका साहित्य सिर्जना गर्न आग्रह गरिएको छ ।

साहित्य सन्ध्याको मासिक ४२५औँ शृङ्खला शनिबार आयोजित ‘वैदेशिक रोजगारी, सामाजिक विकृति र रूपान्तरणमा साहित्यको भूमिका’ विषयक परिचर्चा र कविता वाचन कार्यक्रममा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रघुजी पन्तले साहित्यले समस्यालाई वस्तुपरकरूपमा उजागर गरेर यथार्थ बाहिर ल्याइदिनुपर्नेमा जोड दिँदै राज्यले ठोस नीति निर्माण गरेर युवालाई रोजगारी प्रदान गर्ने कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले कृषि, पर्यटन, उद्योग हाम्रा सम्भाव्य क्षेत्र भएकाले तिनै क्षेत्रमा पूर्वाधार तयार पलायन हुने जनशक्तिलाई रोक्नुपर्ने बताउनुभयो ।

वैदेशिक रोजगारीमा २२ देखि ४५ वर्षसम्मका युवा बाहिरिइरहेको तथ्याङ्क देखिन्छ । यो उमेर भनेको घरपरिवारसँग बिताउने र श्रम गर्न सक्ने उमेर हो । त्यसैले यो उमेरसमूहका युवा पलायन हुँदा त्यसले विभिन्न प्रकारका विकृति पनि ल्याएको पाइन्छ । प्रमुखरूपमा पारिवारिक विखण्डन, यौन विकृति, हिंसात्मक अवस्थाको सिर्जना, ज्यानै जानेसम्मका घटना हुने गरेका र भएका पाइन्छन् ।

कार्यक्रममा युवाकवि प्रशान्त खरेलद्वारा लिखित ‘आगाका फिलुङ्गाहरू’ कविता सङ्ग्रहको लोकार्पण गरिएको थियो । लोकार्पित कविता सङ्ग्रहका बारेमा प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीले टिप्पणी गर्दै नेपाली समाजमा विशेषगरी नेपाली राजनीतिले हुर्काएका विकृत र कुरूप प्रवृत्तिलाई उजागर गर्दै सकारात्मक पक्षलाई प्रोत्साहन र नकारात्मक पक्षका प्रति आक्रोश व्यक्त गरेका, राजनीतिक परिवर्तनपछि परिवर्तनका संवाहकहरूमा आएको स्खलनप्रति कवितामा गम्भीर चिन्ता व्यक्त गरिएको बताउनुभयो ।

गोष्ठीमा प्रा डा कृष्णप्रसाद घिमिरे, डा फणिन्द्रराज निरौला, दुर्गा नेपाली, जयन्ती स्पन्दन, खेमराज निरौला, डा हरिप्रसाद सिलवाल, डम्बर पहाडी, गोविन्द घिमिरे ‘वेदमणि’, गायत्रीकुमार चापागाईँ, नर्मदेश्वरी सत्याल, डा षडानन्द पौडेल, बेनीबहादुर थापा, नमूना शर्मा, गणेश घिमिरे ‘मार्मिक’, भावना न्यौपाने, तारा गाउँले, उर्मिला पन्त पाण्डेय, उमेश उपाध्याय, रमेश पोखरेल र राम विनयले कविता, गीत, एलाक, लघुकथा, मुक्तक वाचन गर्नुभएको थियो ।

साताकाे चर्चित
सम्बन्धित