एमसिसीबारे फेरि बोल्यो चीन- यो उपहार हो कि, पान्डोराज बक्स?
एमसिसीबारे फेरि बोल्यो चीन- यो उपहार हो कि, पान्डोराज बक्स?

नेपालको संसदमा छलफलको क्रममा रहेको एमसिसी सम्झौतामाथि चीनले बुधबार दोस्रो पटक  प्रतिक्रिया दिएको हो। 

    • बेल संचार

    • १२ फाल्गुन २०७८, बिहीबार

अमेरिकी सहयोग परियोजना एमसिसीबारे उत्तरी छिमेकी चीनले फेरि प्रतिक्रिया जनाएको छ। नेपालको संसदमा छलफलको क्रममा रहेको एमसिसी सम्झौतामाथि चीनले बुधबार दोस्रो पटक  प्रतिक्रिया दिएको हो।

बुधबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले अमेरिकाले उपहार भनिरहेको यो सम्झौता उपहार हो कि पान्डोराज बक्स (समस्याको पोको) भनी प्रश्न गरिन्।

‘अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले एमसिसी पास नभए द्वीपक्षीय सम्बन्धमा असर पर्ने भनेको सुनें। काठमाडौंस्थित अमेरिकी दूतावासले ५०० मिलियन डलरको अनुदानलाई अमेरिकी जनताका तर्फबाट नेपालीलाई उपहार भनेको छ। मलाई अचम्म लागेको छ उपहार कहिलेदेखि अल्टिमेटमको प्याकेजसँग जोडिएर आउन थालेछ?,’ उनले भनिन्,’कसैले त्यस्तो उपहार कसरी स्वीकार्न सक्छ?, यो उपहार हो कि पान्डोराज बक्स?’

अन्तर्राष्ट्रिय विकास सहायता दिँदा परस्पर सम्मान, समानता, कुनै देशको सार्वभौमिकता र त्यहाँका नागरिकको चासोको विषयमा आधारित हुनुपर्ने चीनको विश्वास रहेको उनले बताइन्। सहायतासँग  कुनै मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप, राजनीतिक स्वार्थ, धम्कीपूर्ण कूटनीति जोडिन नहुने उनको भनाइ छ।

गत माघ २७ गते अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेका थिए। फोन कुराकानीका क्रममा प्रचण्डलाई लुले एमसिसी पारित नभए चीनका कारण नभएको ठान्ने बताएको समाचार प्रकाशित भएका थिए।

काठमाडौंस्थित अमेरिकी राजदूतावासले भने आफूहरूले नेपाली नेतालाई धम्की नदिएको बताएको छ। अमेरिकी अधिकारीहरूले नेपालमा एमसिसीको यति धेरै विरोध हुनुका पछाडि विदेशी शक्तिको हात रहेको बताउँदै आएका छन्।

लुले टेलिफोन गरेको एक सातापछि चीनले नेपालमा अमेरिकाको धम्कीपूर्ण कूटनीतिको विरोध गर्ने बताएको थियो।

फागुन ६ गते भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीनले धम्कीपूर्ण कूटनीतिको विरोध गर्ने बताएका थिए।

‘चीन नेपालको आर्थिक विकास र नेपालीको जीवनस्तर उकास्न अन्तर्राष्ट्रिय समुदायले सहकार्य गर्ने कुराको स्वागत गर्छ तर यस्तो सहयोग कुनै राजनीतिक सर्तबिना नेपाली जनताको चाहनामा आधारित हुनुपर्छ,’ वेनबिनले भनेका थिए।

साताकाे चर्चित
सम्बन्धित