‘बालविवाह मुक्त गाउँ बनाउने अभियान’
‘बालविवाह मुक्त गाउँ बनाउने अभियान’

गाउँपालिकाले सचेतनाका कार्यक्रमका साथ परामर्श तथा छलफल सञ्चालन गर्दै दण्डित गरेर भए पनि बालविवाह रोक्ने अभियान चलाएको छ ।         

    • बेल संचार

    • १२ फाल्गुन २०७८, बिहीबार

खलङ्गा
जुम्लाको कनकासुन्दरी गाउँपालिकाले ‘बालविवाह मुक्त गाउँ बनाउने अभियान’ सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले सचेतनाका कार्यक्रमका साथ परामर्श तथा छलफल सञ्चालन गर्दै दण्डित गरेर भए पनि बालविवाह रोक्ने अभियान चलाएको छ ।

कनकासुन्दरी–४ का वडा सदस्य सिंहराज सार्कीले भन्नुभयो, “बालविवाह हुन नदिन सचेतनाका अभियान सञ्चालन गरिराखेका छौँ । बालविवाह रोक्न निगरानी समिति गठन गरी काम गरिरहेका छौँ ।” बालविवाह गर्नेलाई वडाको सार्वजनिक सेवाबाट वञ्चित गर्नेदेखि विवाह नै बहिस्कार गर्ने संस्कारको विकास भएको कनकासुन्दरी–६ का लालु नेपालीले बताउनुभयो ।

दलित समुदायमा बालविवाह बढी भएकाले ती समुदाय नै अहिले बालविवाह रोक्न अग्रसर भएको उहाँको भनाइ छ । सो गाउँपालिकाका वडा नं ४, ५ र ६ का बस्तीलाई बालविवाह मुक्त बनाउन सो अभियान केन्द्रित छ । विगतका तुलनामा छाउपडी कम भए पनि बालविवाहलाई रोक्न स्थानीयले अभियान नै सञ्चालन गरेको गाउँपालिको महिला तथा बालबालिका शाखाले जनाएको छ ।

जिल्लामा अझै ७० प्रतिशत बालविवाह हुने गरेको जनाइएको छ । गत आवमा जिल्लाका ८६० किशोरी २० वर्ष नपुग्दै आमा बनेका छन् । ती मध्ये कनकासुन्दरीका मात्रै ९० किशोरीले २० वर्ष नपुगी बालविवाह गरेका थिए । पछिल्लो समय प्रविधिको दुरुपयोग, अभिभावले निगरानी नगरेकै कारणले जुम्लामा बालविवाह बढेको जनाइएको छ ।

जुम्ला–डोल्पा जोड्ने सडक शिलान्यास

जुम्लाको गुठीचौर गाउँपालिका–४ प्याकुरेबाडा–मुडुरी हुँदै डोल्पा जोड्ने सडक शिलान्यास गरिएको छ । गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले जुम्ला खलङ्गाबाट दानसाँघु, गज्र्याङकोट हुँदै डोल्पा जाने सडक हाल सञ्चालनमा रहेको जानकारी दिनुभयो ।

यो सडक हिउँदका लागि उपयुक्त हुनेछ । डोल्पामा सडक विस्तार गर्न दुहिया भीर फुटाल्नुपर्ने भएको छ उहाँले भन्नुभयो, “गाउँपालिकाको सबैतिरबाट डोल्पा जोड्न सडक सञ्जाल विस्तार गर्ने तयारी भइरहेको छ ।”

यसले डोल्पा, जुम्लाको व्यापारिक सम्बन्धलाई बलियो बनाउनेछ । गुठीचौरदेखि डोल्पासम्म सडक विस्तार गर्न रु दुई करोड ६० लाख विनियोजन भएको छ । सडक निर्माण गर्न गुठीचौर गाउँपालिकाको एक करोड ३० लाख तथा कर्णाली प्रदेशको समपूरक बजेटबाट एक करोड ३० रुपैयाँ विनियोजन भएको अध्यक्ष भण्डारीले बताउनुभयो । जुम्ला र डोल्पाको व्यापारी नाका गुठीचौर गाउँपालिका हो । व्यापारका सामान आयात तथा निर्यात गर्न सजिलो हुने वडाध्यक्ष जग्गीप्रसाद जैसीले जानकारीदिनुभयो ।

जुम्लाको जडीबुटी र स्याउ, डोल्पाको बहुमूल्य यार्सासहितका जडीबुटी ओसारपसार गर्न सकिनेछ । कर्णालीका लागि लाभदायक सडक हुने गुठीचौर गाउँपालिकाले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित