एमसीसीबारे प्रचण्ड, नेपाल र खनालबीच छलफलमा के भयो?
एमसीसीबारे प्रचण्ड, नेपाल र खनालबीच छलफलमा के भयो?

उनले एकीकृत समाजवादी शुरुदेखि नै परिमार्जन बिना एमसीसी पास गर्न नदिने पक्षमा रहेको बताए।

    • बेल संचार

    • १२ फाल्गुन २०७८, बिहीबार

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताले एमसीसीको विषयमा छलफल गरेका छन्।

नेकपा एकीकृत समाजवादी) को संसदीय दलको कार्यालय सिंहदरवारमा भएको बैठकमा बिहीवार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच एमसीसीको बारेमा छलफल भएको हो।

छलफलमा एमसीसीको बारेमा आफ्नो पार्टीले बिना संशोधन पास हुन नदिने धारणा बनाएको र पार्टीका नेताहरूलाई अहिलेकै स्थितिमा पास गर्ने भए एमसीसीको विपक्षमा मतदान गर्ने ह्वीप दिने सम्मानित नेता खनालले बताए।

उनले एकीकृत समाजवादी शुरुदेखि नै परिमार्जन बिना एमसीसी पास गर्न नदिने पक्षमा रहेको बताए।

‘सामाजवादीको स्ट्याण्ड शुरूदेखि अन्तिमसँग क्लियर छ- नो एमसीसी। विथ आउट एनी चेन्ज अर एमेनमेण्ट नो एमसीसी। हामी दुई पार्टीहरु जहिलेसुकै पनि एउटै स्ट्याण्डमा छौं। त्यो भनेको परिमार्जन बिना संशोधन बिना हामी एमसीसी पास गर्दैनौं,’ खनालले भने।

त्यस्तै बैठकमा सहभागि नेकपा (माओवादी केन्द्र) का नेता देव गुरूङले एमसीसीको विपक्षमा मतदान गर्ने कुरामा छलफल भएको बताए। उनले संसदमा हुने एमसीसीको छलफलमा भाग लिने र त्यसको लागि सभामुखलाई संसदमा भइरहेको अवरोधलाई हटाउनका लागि आग्रह गर्ने पनि बताए।

‘एमसीसीको विपक्षमा मतदान गर्ने भन्ने कुरा छँदैछ। तर अहिले सदन अवरुद्ध भइरहेको अवस्थामा छलफल गर्ने वातावरण छैन। डेमोक्रेसी नम्सको प्रक्रियाअनुसार नै छलफल गर्नुपर्छ। राष्ट्रिय विषयमा सबै संसदहरूले बोल्ने चान्स पाउनु पर्ने हुन्छ। यही विषयमा सबैसँग सभामुख लगायतसँग छलफल गर्ने कुरा भएको छ,’ उनले भने।

सरकारले गत फागुन ८ गते एमसीसी छलफलका लागि संसदमा पेश गरिसकेको छ । सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्नका लागि संसदमा पेश गरेपनि सत्तारूढ दलहरू नै एमसीसीको विपक्षमा उभिएका छन्।

एमसीसी यथा स्थितिमा पास गर्नु नहुने भन्दै सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी बिरूद्ध आन्दोलन गर्दै आएको छ। त्यस्तै सत्तारुढ अर्को दल राष्ट्रिय जनमोर्चाले एमसीसी नेपालको हीतमा नभएको दाबी गर्दै कुनै पनि हालतमा एमसीसी पास गर्न नुहने अडान राख्दै आएको छ।

साताकाे चर्चित
सम्बन्धित