महाशिवरात्रिको तयारी स्वरूप पशुपति क्षेत्रमा बिजुली बत्तीले झिलीमिली बनाउन थालिएको छ । दाताको सहयोगमा बिहीबारदेखि नै पशुपति क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिको तयारीस्वरूप झिलीमिली बनाउन थालिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए । पशुपति क्षेत्रका सबै स्थानमा बिजुली बत्ती बाल्न थालेपछि आकर्षक देखिएको छ ।
पशुपतिनाथ मन्दिरको मुख्य क्षेत्रलाई फूलले सजाउने काम भने फागुन १५ र १६ गते गरिने प्रवक्ता अधिकारीले बताउनुभयो । फूल बाँदरले चुँड्ने भएकाले एक दिनअघिमात्र सजाउने तयारी कोषले गरेको हो । बिजुली बत्ती र फूलले सजाउन दाताले नै सहयोग गरेका छन् । दाताको करिब रु ५० लाख बराबरको सहयोगले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रलाई बिजुली बत्ती र फूलले सजाउन लागिएको हो ।