युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेका छन् । जेलेन्स्कीले ट्वीट गर्दै आफूले भारतीय प्रधानमन्त्री मोदीसँग कुरा गरेको जानकारी दिएका छन् ।
उनले ट्वीट गर्दै आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको र मोदीलाई रुसको आक्रमणको बारेमा जानकारी दिएर १ लाखभन्दा धेरै आक्रमणकारी आफ्नो जमिनमा आएको र मानव बस्ती भएको क्षेत्रमा घातक आक्रमण गरिरहेको बताएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन् ‘हामी भारतसँग आग्रह गर्छौं कि उनीहरुले हामीलाई सुरक्षा परिषदमा राजनैतिक समर्थन दिउन् र हामी मिलेर आक्रमणकारीलाई रोकौं ।’ मोदीले युक्रेनमा रुसको आक्रमणपछि बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि फोनमा कुरा गरेका थिए । मोदीले यस क्रममा रुसी राष्ट्रपतिसँग युक्रेनमा तत्काल हिंसा रोक्न अपिल गरेका थिए ।