भेरी पुल अलपत्र,ठेकेदारको मृत्युपछि
भेरी पुल अलपत्र,ठेकेदारको मृत्युपछि

निर्माणको जिम्मा लिएका ठेकेदार राजु श्रेष्ठको मृत्यु भएपछि पुल निर्माणको काम लामो समयदेखि रोकिएको हो ।

    • बेल संचार

    • १५ फाल्गुन २०७८, आईतवार

जाजरकोट

निर्माण कम्पनीको चरम लापरबाहीले पूर्व–पश्चिम जोड्ने मध्यपहाडी राजमार्गमा निर्माणाधीन मोटरेबल पुल १० वर्षदेखि अलपत्र परेको छ ।

निर्माणको जिम्मा लिएका ठेकेदार राजु श्रेष्ठको मृत्यु भएपछि पुल निर्माणको काम लामो समयदेखि रोकिएको हो ।

मध्यपहाडी राजमार्गअन्तर्गत जाजरकोटको कुदु र रुकुम पश्चिमको चौरजहारीलाई जोड्न २०६९ मा पुल निर्माणका लागि वाईपी कन्स्ट्रक्सन प्रालि ललितपुरसँग सम्झौता गरिएको थियो । कम्पनीले १३ करोड ४७ लाख रुपैयाँमा पुल निर्माणको ठेक्का लिएको छ । तर अहिलेसम्म दुई पिलरको आधा काम पनि सकिएको छैन । कम्पनीले तीन वर्षभित्र पुल निर्माणको काम गर्ने गरी सम्झौता गरेको थियो । पिलर ठड्याउने डिजाइन नमिलेको बहाना गराएर निर्माण कम्पनीले काम बीचमै अलपत्र छाडेको छ ।

सम्झौतालगत्तै परिचालन खर्चका नाममा करिब २ करोड ५० लाख रुपैयाँ पेस्की लिएको कम्पनीले बजेट दुरुपयोग गरेको भेरी नगरपालिका–१३ का वडाध्यक्ष गोपाल बटालाले बताए । पुल निर्माणमा भएको ढिलाइले रुकुम र जाजरकोट आपसमा सडकले जोडिन सकेका छैनन् । पुल निर्माणमा भएको ढिलाइले यस क्षेत्रकै विकासमा बाधा पुगेको राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माको भनाइ छ ।

लामो समयदेखि पुल नबन्दा व्यापार व्यवसायमा समेत ठूलो असर परेको उद्योग वाणिज्य संघ चौरजहारीका अध्यक्ष प्रेम सुनारले बताए । १ सय मिटर लम्बाइको उक्त पुल नबन्दा स्थानीय सकसपूर्ण लामो यात्रा गर्न बाध्य छन् । पुल निर्माणको काम अलपत्र परेपछि चौरजहारीमा नयाँ सहर निर्माण आयोजनाको कामसमेत प्रभावित बनेको उनले जानकारी दिए । ‘सरकारले ठेक्का तोड्नेभन्दा पनि पटकपटक म्याद थपिरहेको छ,’ उनले भने, ‘वषौंसम्म पुल अलपत्र हुँदा पनि कसैलाई चासो छैन ।’

मध्यपहाडी लोकमार्ग आयोजनाले जाजरकोट र रुकुम खण्डमा कालोपत्र गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ । तर पुल नबन्दासम्म रुकुम र जाजरकोटमा विभिन्न पूर्वाधार निर्माणमा समस्या भएको छ ।

पुल बने पूर्व इलामको चियाभन्ज्याङ हुँदै पश्चिम दार्चुला झुलाघाटसम्मको मध्यपहाडी लोकमार्ग आयोजनाको दूरी छोटिनेछ । यो पुल निर्माण भए जाजरकोट, दैलेख, बागलुङ, काठमाडौंलगायत जिल्लाको यात्रा सहज हुनेछ । पुल बनेपछि जाजरकोट–काठमाडौं यात्रा करिब ६ घण्टा यात्रा छोटिने बताइएको छ ।

पुल निर्माणको अवधि वैशाखसम्म थपिएको छ । कोरोना महामारीका कारण डेढ वर्षअघि मूल ठेकेदार राजु श्रेष्ठको मृत्यु भएपछि थप समस्या भएको फिल्ड सुपरभाइजर विमल कार्कीले बताए । उक्त कम्पनीको सहायक कम्पनीमार्फत ६ महिनाभित्र निर्माण सक्ने गरी आवश्यक सामग्री संकलनको काम भइरहेको उनको भनाइ छ ।

साताकाे चर्चित
सम्बन्धित