प्रदेशसभा बैठक,साढे तीन महिनापछि
प्रदेशसभा बैठक,साढे तीन महिनापछि

प्रदेशसभा सचिवालयले प्रदेशसभाको बैठक साढे तीन महिनापछि आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाएको छ ।

    • बेल संचार

    • १५ फाल्गुन २०७८, आईतवार

मोरङ

साढे तीन महिनापछि प्रदेश १ मा प्रदेशसभा बैठक आइतबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले प्रदेशसभाको बैठक साढे तीन महिनापछि आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाएको छ ।प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बैठकका लागि कार्यसूची सार्वजनिक गरिसकेका छन् । उनले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ माथि बैठकमा छलफल हुने कार्यसूची तय गरिएको बताए । मुख्यमन्त्री राजेन्द्रकुमार राईले मंसिर १ मा प्रदेशसभाबाट विश्वासको मत लिएदेखि अनिश्चितकालका लागि बैठक स्थगित भएको थियो ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ५ दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ मा मुख्यमन्त्री राई नेतृत्वको सरकारले हालसम्म एउटा पनि विधेयक निर्माण गर्न सकेको छैन । तत्कालीन भीमप्रसाद आचार्य नेतृत्वको सरकारले प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलगायत ल्याएको तीन वटा विधेयकमध्ये पनि राई नेतृत्वको सरकारले एउटा विधेयक फिर्ता लिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

सरकारले प्रदेशसभाको समितिमा रहेको केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७८ फिर्ता लिने निर्णय गरेको छ । प्रदेशसभाको समितिमा अर्को प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ छलफलको क्रममा छ ।

सचिव पराजुलीले प्रदेश सरकारले पछिल्लो समय कुनै पनि नयाँ विधेयक नल्याएको बताए । विधेयक अधिवेशन भनिने प्रदेशसभाको चालु नवौं तथा हिउँदे अधिवेशनमा हालसम्म ६ वटा बैठक सम्पन्न भएको तर एउटा पनि विधेयक पारित हुन सकेको छैन । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश आमसञ्चार विधेयक निर्माणका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री राईले प्रदेशसभाको चालु अधिवेशनबाट नै प्रदेशको नामकरण प्रक्रिया अघि बढाउने तयारी गरेकाले बिजनेस अभाव नहुने बताए । हालसम्ममा ५४ वटा विधेयक प्रदेशसभाबाट पारित भएर प्रदेश प्रमुखले प्रमाणीकरणसमेत गरिसकेका छन् ।

साताकाे चर्चित
सम्बन्धित