संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेकाे छ। रुस-युक्रेन युद्ध जारी रहेका बेला बुधबार राति महासभामा भएकाे मतदानमा प्रस्तावको पक्षमा नेपालसहित १४१ मुलुकले भाेट दिए । विपक्षमा पाँच देशले मतदान गर्दा भारत, चीनसहित ३४ मुलुक तटस्थ बसेका छन्।
युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी पक्ष र विपक्षमा मतदान भएकाे हाे। राष्ट्रसंघमा कुल १ सय ९३ सदस्य राष्ट्र छन्। यसअघि राष्ट्रसंघीय मानवअधिकार परिषद्मा पनि नेपालले युक्रेनकाे पक्षमा मतदान गरेकाे थियाे । परिषद्मा ४७ देश सदस्य छन्।
यसअघि राष्ट्रसंघकाे सुरक्षा परिषद्मा पनि भारत र चीन तटस्थ बसेका थिए। तर, सुरक्षा परिषद्मा नेपाल छैन। सुरक्षा परिषद्मा १५ सदस्य राष्ट्र छन्। राष्ट्रसंघमा रहेका १ सय ९३ सदस्य मुलुकले यसअघि युक्रेनमाथि भएको आक्रमणबारे आफ्नो धारणा राखेका थिए।
त्यसअघि महासभा आयोजनाको विपक्षमा रुसले मतदान गरे पनि बैठक आव्हान गर्ने निर्णयलाई रोक्न सकेन । शान्तिका निम्ति भन्ने धारणा सहित विशेष सभाको आयोजना गरिएको थियाे।