शुक्लाफाँटा नगरपालिका–७ जुडाका वीरसिंह ठुगुन्ना गाउँकै समूहबाट बेतबाँसका सामग्री बनाउने १७ दिनको तालिम लिएर उद्योगी बनेका छन् ।
सुनदेवी उपभोक्ता समूहमा आबद्ध भएर ठगुन्नाले एक दशकअघि बेतबाँसका सामग्री बनाउने सीप सिकेका हुन् । सीप सिकेपछि उहाँले त्यसलाई व्यावसायिक बनाई काम गर्न थालेपछि पैसाका लागि अरु कहाँ हात थाप्नुपरेको छैन । बेतबाँसबाट ठगुन्नाले हेङ्गर, टबुल, कुर्सी, सोफा, ¥याक, टोकरी, मुढालगायत घर सजावटका सामग्री बनाउँदै आएका छन् ।
तालिममा सिकेको सीपलाई निर्खादै जाँदा उहाँ बेतबाँसका सामग्री बनाउने सफल व्यवसायीकारुपमा परिचित भएका छन् । मासिकरुपमा ठगुन्नाले रु ३० हजारदेखि रु ७० हजारसम्म कमाई गर्दै आएका छन् ।
“मागअनुसार बेतबाँसका सामग्री बनाएर बिक्री गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “महिनामा ५० देखि १०० सम्म सामग्री निर्माण गर्दै आएका छौँ । लागत खर्च कटाएर सोचेअनुसार नै आम्दानी हुने गरेको छ ।”
विगतका वर्षमा कमाउनकै लागि भारतीय क्षेत्रमा जाने गरेको उल्लेख गर्दै उहाँले सीप सिकेपछि घरमै बसीबसी आम्दानी हुन थालेपछि भारत जाने दिनको अन्त्य भएको बताउनुभयो । कच्ची घरमा बस्दै आएका उहाँले बेतबाँसकै सामग्री निर्माण गरी कमाएर आएको रकमबाट गाँउमै पक्की घर ठड्याएका छन् । छोरालाई उच्च शिक्षा ग्रहणका लागि काठमाडौँ पठाएका छन् । घरको खर्चसँगै छोरोको पढाई खर्च सबै बेतबाँसका सामग्री बेचेर आएको आम्दानीले धानिँदै आएको उहाँले जानकारी दिनुभयो ।
“बेतबाँसका सामग्री बनाउनका लागि सीप सिकेपछि व्यवसायलाई अगाडि बढाउनका लागि पैसा थिएन”, उहाँले भन्नुभयो, “उपभोक्ता समूहबाट रु ५० हजार रकम छ प्रतिशत ब्याज तिर्ने गरी कर्जाका रुपमा लिएँ ।” कर्जा लिएको रकमबाट कैलालीका सामुदायिक वनबाट बेत र स्थानीय क्षेत्रबाट बाँस खरिद गरी काम गर्न थालेँ । त्यसबाट आम्दानी बढ्दै गयो । ब्याजसहित कर्जाको रकम पुरै चुक्ता गरेँ ।” वडा कार्यालयले कामको मूल्याङ्कन गरी रु एक लाख अनुदान रकम दिएपछि कार्य गर्न सहज भएको उहाँले बताउनुभयो ।
“वडाको रु एक लाख अनुदानसँगै समूहबाट रु दुई लाख कर्जा लिएर ठगुन्ना बेतबाँस हस्तकला उद्योग दर्ता गरी कार्य अगाडि बढाएको छु”, उहाँले भन्नुभयो, “विगतमा थोरै पुँजीमा थोरै काम हुन्थ्यो । अब बजारमा मागअनुसारका बेतबाँसका सामग्री बनाएर बेच्ने योजना छ ।”