सिमकोट, २० फागुन :
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जिल्ला प्रहरी कार्यालय हुम्लामा रहेका थुनुवा तथा कैदीबन्दीका लागि टेलिभिजन (टिभी) सहयोग गर्नुभएको छ । उनीहरुको मनोरञ्जनका लागि पूर्वमुख्यमन्त्री शाहीले एक थान टिभी सहयोग गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
शाही नेकपा (माओवादी केन्द्र) हुम्लाको जिल्ला समन्वय समितिलाई पूर्णता दिनका लागि यहाँ आउनुभएको थियो । सोही अवसरमा जिल्ला प्रहरी कार्यालयभित्र भएका थुनुवा तथा कैदीबन्दीलाई मनोरञ्जनका लागि कार्यालयका प्रमुख हेरम्भ शर्मालाई सहयोग हस्तान्तरण गर्नुभएको थियो । अहिले जिल्ला प्रहरी कार्यालयमा महिला पुरुष गरेर १२ थुनुवा तथा कैदीबन्दी रहेका छन् ।